सप्तरीमा लागूऔषधसहित तीन युवक पक्राउ

सप्तरी । जिल्लाको सीमावर्ती छिन्नमस्ता गाउँपालिका १ बरहीस्थित कोशी कर्णाल पम्प नहर क्षेत्रको बाटोबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सप्तरीको तिरहुत गाउँपालिका ५ घर भएका २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाईर कृष्णसवरण गाउँपालिका ६ घर भएका २५ वर्षीय बैजु साहलाई बिहीबार राती लागूऔषधसहित पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुको साथबाट एक सय एमएलको एक सय ९० बोतल डाइलेक्सडिसी, ९५÷९५ एमपुल डाइजिपाम, फेनार्गन र लिजेसिक बरामद भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पक्राउ परेका तीन जना युवक को.२३ प २७७३ नम्बरको मोटरसाईकल चढेर नहरको बाटो हुँदै पश्चिमबाट पूर्वतर्फ आउँदै थिए । सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनसार नहरको बाटोमा चेकजाँच गरिरहेको अवस्थामा शंका लागेपछि मोटरसाइकल रोकेर खानतलासी गर्दा लागूऔषध बरामद भपछि तत्काल नियन्त्रणमा लिइएको हो । लागूऔषधसहित पक्राउ गरिएका तीन जना विरुद्ध लागूऔषध मुद्दा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थपसहित अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।