राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता : राष्ट्रपति पौडेल

सिरहा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिइनु पर्ने आवश्यकता औंल्याउँदै त्यस अनुरुप पाठ्यक्रम निर्माण र पठनपाठन विधि अपनाउन आग्रह गरेका छन् ।
सिरहाको लहान मटियर्वास्थित पशुपति आदर्श मा.वि. (प्राविधिक) को शनिबार दिउँसो हीरक जयन्ती समारोहको समुद्घाटन गर्र्द राष्ट्रपति पौडेलले त्यसका लागि तीन तहको सरकार र स्थानीय सरोकारवालाको सहयोगमा आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न अपरिहार्य रहेको उल्लेख गरे । ‘रोजगारी र शिक्षाका लािग शहर पस्ने र शहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीय स्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ गुणतरीय शिक्षा प्रदान गर्नेतर्फ सबैको ध्यान जानुपर्छ’ उनले भने ।
राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा
मूलतः वर्तमान विश्व परिवेशको माग अनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी, गुणस्तरीय पठनपाठनको विकास गरिनु पर्नेमा जोड दिंदै उनले भने ‘राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्न हाम्रो उपलब्ध शक्ति र सामथ्र्यको प्रयोग हुन आवश्यक छ ।’
शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकास मात्र नभई चेतना, ज्ञान र अनुशासनको संस्कार तथा सभ्यता निर्माणको आधार समेत रहेको उल्लेख गर्दै उनले भने ‘त्यसैले सरकारको नीति, बजेट, योजना समयानुकूल शिक्षा दिने तथा राष्ट्र निर्माण, राष्ट्रिय एकताको भावनालाई बलियो बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’
विद्यालय सबैको भएकाले यसको संरक्षण सम्बद्र्धनमा सामूहिक भावनाको विकास हुनु पर्नेमा जोड दिंदै उनले त्यसले आफूहरुको सन्तति र कर्णधारहरुको भविष्य सुरक्षित हुने औंल्याए । ‘विद्यालयप्रति स्थानीय निकाय, अभिभाव र समुदायको अभिच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ’ उनले भने । सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै विद्यालय स्थापना तथा संचालनका लागि गर्न दान गर्ने दाता परिवार तथा स्थानीय बासिन्दालाई उनले धन्यवाद व्यक्त गर्दै मुलुकको राजनीतिमा लहानको भूमिकाको सह्राना गरे । वि.सं. २०१० सालदेखि एस.एल.सी. परीक्षामा सहभागी हुन थालेको उक्त विद्यालयबाट २०७९ सालसम्म ६९ औं ब्याच सामेल भइसकेको प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
पशुपति हाई इङ्लिस सकूल लहान मटियर्वाको नाममा स्थापित विद्यालय पशुपति व्यवसायिक मा.वि. हुँदै पशुपति आदर्श मा.वि. कायम गरिएको उनले बताए । उनका अनुसार विद्यालयमा २०४४ सालदेखि दृष्टिविहीन विद्यार्थीहरुका लागि आवाससहितको पठनपाठन, २०६५ सालदेखि खुला शिक्षा, २०६७ सालदेखि १०+२ तर्फ शिक्षा, मानविकी र बाणिज्य संकाय संचालन र २०७९ सालदेखि सिटिइभिटीमार्फत् तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्को पठनपाठन भइरहेको छ ।
पुरस्कार र सम्मान, रिमोटबाट स्तम्भ अनावरण
विद्यालय परिसरमा राष्ट्रपति पौडेलले २००५ साल असोज ३० गते स्थापित विद्यालयलाई १८ बिघा १९ कठ्ठा साढे १२ धुर जग्गा दान गर्ने सात जना जग्गादाताको स्तम्भ, विद्यालय स्थापना गर्न स्थानीय बासिन्दालाई उत्प्रेरित गर्ने बाल ब्रम्हचारी दामोदरानन्दको शालिक रिमोटबाट अनावरण गरे ।
विद्यालयका लागि जग्गादान गर्ने लहान मटियर्वाका हरिहरलाल चौधरी, अचमितलाल चौधरी, नन्दीलाल चौधरी, धर्मनाथ चौधरी, प्रेमलाल चौधरी, सूर्यनारायण चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरका पदमबहादुर न्यौपानेको शालिक अगाडि रहेको जग्गादाता स्तम्भ र बाल ब्रम्हचारी दामोदरानन्दको शालिक रिमोटबाट अनावरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले जग्गादाता परिवारका सात जनालाई पुरस्कार तथा उक्त विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १६ जना पूर्व विद्यार्थी तथा तिनका परिवारलाई सम्मान पत्र वितरण गरे । दाता परिवारको तर्फबाट पूर्वमन्त्री तथा समाजसेवी पद्नारायण चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरे ।
जसले लडेरै राष्ट्रपतिलाई भेटे


कार्यक्रमको अन्त्यतिर सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ महदेवा गाउँका करिब ८० वर्षीय तिलक यादव राष्ट्रपतिलाई भेट्न पाउँ भन्दै मञ्चतिर जान खोज्दा सुरक्षाकर्मीले रोकेपछि केही समय हो–हल्ला र तानातान भयो । यादव मञ्चतिर जान खोज्ने र सुरक्षाकर्मीले रोक्ने क्रम चलेसँगै हो–हल्ला हुँदा मञ्चमा राष्ट्रपतिसँगै रहेका विद्यालयका पूर्व विद्यार्थी तथा संघीय सांसद् तेजुलाल चौधरीले उनलाई आउन दिन इशारा गरेपछि सुरक्षाकर्मीले मञ्चसम्म पुर्याए ।
राष्ट्रपतिसँको छोटो भेटमा यादवले बहुविवाहको मुद्दामा पुर्पक्षका लागि सिरहा कारागारमा रहेका बेला २०७० साल असार ५ गते झुन्डिएर मृत्यु भएका भनिएका आफ्ना छोराको मृत्युको विषयमा छानबिन गर्न आग्रह गरेको बताए ।