जागरण अभियानले माओवादीप्रति भरोसा बढाएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो केन्द्रीय समिति बैठकबाट पार्टीले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको उल्लेख गरे । ‘सोही निर्णय अनुसार हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानमा क्रियाशील छौं’ उनले भने ‘सम्पूर्ण पार्टी पंक्तिको सकृयतामा जनताको घरमा बस्ने, उनीहरूसँगै बसोबास, खानपिनसहित छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं ।’ त्यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको चर्चा गर्दै उनले भने ‘जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन् ।’
हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उनको भनाइ थियो । ‘म प्रधानमन्त्री हुँदा निर्माण रोकिएको हुलाकी राजमार्ग भारतसँग कुराकानी गरी हुलाकी राजमार्गको उद्घाटन आफैंले गरेको थिएँ’ उनले भने ‘त्यसैले अहिले पनि त्यहाँका जनतामा माओवादीप्रतिको विश्वास बलियो बनेको छ, माओवादीले जे भन्छ, त्यो गर्छ भन्ने अनुभूति उनीहरूमा छ ।’
पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब चार हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्दै उनले तीमध्ये जनताबीच राम्रो प्रभाव भएका नेताहरू पनि रहेका कारण पार्टी पंक्तिमा उत्साह थपिएको बताए । ‘त्यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावनालाई पुष्टि गरेको छ’ उनले भने ‘नेताहरूको साथमा अभियानमा सहभागी हुँदा जनतामा झनै उत्साह देखिएको, विगतमा पार्टीबाट अलग भएका धेरै नेताहरू पनि व्यक्तिगत रूपमा पार्टीमा पुनः प्रवेश गरेका छन् ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उल्लेख गरे । अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको भन्दै उनले माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको बताए । सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी रहेको औंल्याउँदै उनले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेको सुनाए ।
नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गरे ।