भावी पुस्ताको बाँच्न पाउने अधिकारको ख्याल गरौं : प्रधानमन्त्री प्रचण्ड

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकारको ख्याल गर्दै ढुङ्गा, गिट्टी र बालुवाको संकलन तथा उत्खनन् गर्न आग्रह गरेका छन् ।
‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नारासहित दसौं चुरे संरक्षण दिवसको अवसरमा आइतबार सिरहाको मिर्चैया नगपालिका ७ स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा आयोजित बृहत् बृक्षारोपण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि व्यवस्थित भौतिक विकासको अवधारणा अनुरुप वातावरणीय अध्ययन जरुरी रहेको औंल्याए ।
ढुंगा, गिट्टी, बालुवाको संकलन र उत्खनन्सँगै चुरे क्षेत्रको दोहन बढेकाले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भिर संकट पैदा गरेको उल्लेख गर्दै उनले भने ‘चुरे क्षेत्रमा बढ्दो जनसंख्या, अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अव्यवस्थित भौतिक पूर्वाधार निर्माण, भू–क्षय लगायतका कारणले चुरेको संरक्षण चुनौतीपूर्ण बन्दै छ ।’ ‘बहुसंख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएकाले यसको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ’ उनले भने ।
विपद्बाट जनता बचाउन चुरे जोगाऔं
प्रकृति स्वच्छ हुँदा मात्र मानव जीवन सुरक्षित हुने उल्लेख गर्दै उनले प्रकृतिको संरक्षण गरिनु पर्नेमा जोड दिए । ‘तसर्थ, तराई–मधेशका जनतालाई विपद्बाट बचाउन चुरे क्षेत्रका वन, बनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरुको प्राकृतिक प्रकृया अनुसार स्वच्छ र स्वतन्त्र रुपमा बाँच्न दिनुपर्छ’ उनले भने ।


वि.सं. २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता औंल्याए । ‘त्यसका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ’ उनले भने ‘चुरे पर्वतीय प्रणाली तराई–मधेशको पानीको स्रोत हो ।’ चुरेका प्राकृतिक सम्पदाहरु तल्लो तटीय क्षेत्र अर्थात् मधेशमा बस्ने जनसमुदायका लागि जीवनरेखा भएपनि पछिल्लो समय जान वा अञ्जानमा चुरे संरक्षण क्षेत्रका प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा परेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘बिस्तृत आयोजना प्रतिवेदन, इञ्जिनियरिङ् डिजाइन र वातावरणीय प्रभाव अध्ययन बिना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड श्रृंखला कमजोर भएको छ ।’
बृहत् बृक्षारोपणले जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै उनले भने सिरहाको कमला नदी र झापाको कन्काई नदीको उकास, खाली र क्षतिग्रस्त करिब दश हजार हेक्टर भूमिमा बाँस रोपेर चुरेको संरक्षण र स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने परियोजना अघि बढाइने उल्लेख गरे । चुरे क्षेत्रको संरक्षण, स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने गरी बाँस अम्रिसो चिउरी जस्ता बहुउपयोगी प्रजातीका बृक्षारोपण कार्यलाई निरन्तरता दिइनु पर्नेमा जोड दिंदै उनले चुरे क्षेत्रका सबै नदी प्रणालीमा बिस्तारको आवश्यकता रहेको औंल्याए ।


राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको आर्थिक सहयोगमा लक्ष्मी तथा रामपुर खोरिया जीवा सामुदायिक वन क्षेत्रको एक सय मध्ये ३२ हेक्टर जग्गामा बृक्षारोपण अन्तर्गत प्रधानमन्त्री प्रचण्ड, संघीय वन मन्त्री नवलकिशोर साह सुडी, मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहसहित प्रदेशका मन्त्रीहरु, पूर्व मन्त्रीहरु, समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि लगायतले विभिन्न प्रजातिका एक सय ५० बिरुवा रोपे । नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको संरक्षणमा रहने वन क्षेत्रको बाँकी भागमा आँप, लिची, कटहर, बर पिपल, तेजपात, सतिसाल, रुद्राक्ष लगायतका बिरुवा रोपिने डिभिजन वन कार्यालय सिरहाले जनाएको छ ।