
सिरहा । व्यवसायिक रजिष्टर्ड लेखापरीक्षकहरुको पेशागत संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) सिरहा शाखाले प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
एशोसिएसनको १९ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखाका पदाधिकारीहरुको टोलीले आइतबार जिल्ला सदरमुकाम सिरहास्थित प्रादेशिक अस्पतालमा विभिन्न ठाउँबाट आएर उपचार गराइरहेका करिब पाँच दर्जन जना बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।
जिल्ला अध्यक्ष सूर्यनारायण यादव, सचिव अगमलाल मण्डल, सहसचिव तेजनारायण चौधरी, कोषाध्यक्ष राजेन्द्र प्रसाद साह, कार्यालय सचिव उपेन्द्र प्रसाद साहसहितको टोलीले अस्पताल प्रशासनसँग समन्वय गरी बिरामीहरुको शैय्यामै पुगेर फलफूल वितरण गरिएको एशोसिएसनले जनाएको छ ।
मुलुकका प्रायः सबै जिल्लामा रजिष्टर्ड लेखापरीक्षकहरु आबद्ध रहेको एशोसिएसनले हरेक स्थापना दिवसमा जिल्लामा शाखामार्फत् आ–आफ्नो योजना अनुसार सामाजिक क्षेत्रका काम गरिंदै आएको कार्यालय सचिव साहले जानकारी दिए ।