सिरहाको धनगढीमाईमा निःशुल्क आँखा शल्यक्रिया शिविर

सिरहा । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र धनगढीमाई नगरपालिकाको साझेदारीमा धनगढीमाई नगरपालिकामा पर्ने विभिन्न वडाहरुमा पछिल्लो एक हप्तादेखि संचालित आँखा जाँच शिविरपछि बुधबारदेखि शल्यक्रिया थालिएको छ ।
नगरको आफ्नै अस्पताल भएपनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएपछि धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीहरुको शल्यक्रिया भइरहेको वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रकाश योञ्जनले जानकारी दिए । ‘शल्यक्रिया गरिएका बिरामीलाई आराम गर्न ओछ्याउने र खान जाउलोको व्यवस्था नगरपालिकाले गरेको छ’ उनले भने ।
प्रतिष्ठानबाट डा. मोहनकृष्ण श्रेष्ठको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना प्राविधिक जनशक्ति, सर्जिकल उपकरणसहितको टोलीले आँखा बुधबार साँझसम्म एक सय जना भन्दा बढीको शल्यक्रिया गरेको र राती अबेरसम्म दुई सय जनाको हाराहारीमा शल्यक्रिया गरिने शिविरमा सहभागी प्रतिष्ठानका नरुदेव भण्डारीले जानकारी दिए ।
‘शिविरमा नगरका स्वास्थ्यकर्मीहरुले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरुको संलग्नता छ’ भण्डारीले भने ‘शिविरकको अन्तिम दिन ४ फागुनसम्म करिब छ सय जना बिरामीको शल्यक्रिया गरिने लक्ष्य छ ।’
स्क्रिनिङ् शिविरमा दुई हजार पाँच सय बढीको जाँच
प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनु पर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ् शिविर चलाएको छ ।


स्क्रिनिङ् शिविरमा नगरपालिकाको १ देखि १४ नं. वडा क्षेत्रका एक हजार चार सय ३१ महिला र एक हजार ७८ जना पुरुष गरी दुई हजार पाँच सय नौ जनाको आँखा जाँच गरिएका मध्ये पाँच सय ३५ जना शल्यक्रिया गरिनु पर्ने बिरामीको पहिचान भएको नगर स्वास्थ्य संयोजक विशेश्वरप्रसाद यादवले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गरिएको प्रमुख प्रशासकीय भवन परिसरमा बुधबार संचालन गरिएको स्क्रिनिङ् शिविरमा २५ जना शल्यक्रिया गरिनु पर्ने बिरामीका पहिचान भएको छ । ‘आफ्नो वडामा छुटेका बिरामीका लागि प्रमुख प्रशासकीय भवनमा स्क्रिनिङ् शिविर अन्तिम दिनसम्म जारी रहेन छ’ उनले भने ।