सप्तरीबाट पुनः ठूलो परिमाणमा गाँजा बरामद

सप्तरी । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका ३ बाट पुनः ठूलो परिमाणमा प्रतिबन्धित मात्रामा गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बोदेबर्साइन नगरपालिका– ३ बाट गाँजा बरामद भएको हो । प्रहरीले शनिबार जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलनमार्फत् प्लाष्टिकको बोराबाहेक सात सय ११ केजी गाँजा बरामद भएको जनाएको छ । प्रहरीका अनुसार पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत बिहुल पुलभन्दा करिब एक सय मिटर पूर्व बोदेबर्साइन ३ बाट गाँजा झारिरहेको अवस्थामा स्कर्पियोसहित गाँजा नियन्त्रणमा लिएको हो ।
हुलाकी सडक क्षेत्रमै गाँझा झारिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक हेमन्तकुमार तामाङ्को कमाण्डमा खटिएको प्रहरी टोली देखे लगत्तै नम्बर नखुलेको एउटा स्कर्पियो भागेको र अर्को प्र.१–०२–००२–च ५८३४ नम्बरको स्कर्पियोको चालक पनि फरार भएको प्रहरी उपरीक्षक खतिवडाले पत्रकार सम्मेलनमा बताए ।
चालक फरार भएपछि बरामद भएको स्कर्पियो र ३० वटा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको उनले बताए । फरार भएको स्कर्पियो र चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सप्तरी प्रहरीले गाँजा ओसारपसार नियन्त्रणमा कडाई गरेपछि धमाधम गाँजा बरामद हुने क्रम बढिरहेको छ । त्यसअघि प्रहरीले गत २७ पुसमा बलानबिहुल गाउँपालिका १ चनही कमलदाहा गाउँमा परालले छोपिएको अवस्थामा छ सय ७० केजी गाँजा नियन्त्रणमा लिएको थियो भने ३ मंसिरको राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने टिपरमा लोड गरिएको एक हजार सात सय १७ केजी गाँजा नियन्त्रणमा लिएको थियो ।