श्रमिक महिलाको सवाल सम्बोधन गर्न माग गर्दै ज्ञापन

सिरहा । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर स्थानीय तहहरुमा श्रमिक महिलाको सवाल सम्बोधनका लागि विभिन्न १२ बुँदे मागसहित महिला अधिकारको लागि कृयाशील सामाजिक संस्थाहरुले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
श्रमिक महिलाका सवाल सम्बोधन गर्न बनेका कानुन, नीति, कार्यविधिको प्रभावकारी कार्यान्वयन नभएको भन्दै उनीहरुले स्थानीय तहबाट संचालन हुने स्वरोजगार सम्बन्धी कार्यक्रमहरुमा श्रमिक महिलाको पहुँचको ग्यारेण्टी, श्रमिकहरुको अनिवार्य बीमा हुनु पर्ने माग गरेका छन् ।
श्रम डेस्कदेखि महिला मैत्री कार्यस्थल
महिला अधिकारकर्मीहरुको टोलीले सोमबार सिराहाका प्रजिअ लालबाबु कवारीलाई बुझाएको ज्ञापन पत्रमा जिल्लाका १७ वटै स्थानीय तहमा कार्यविधि/निर्देशिकासहित श्रम डेस्कको स्थापना, महँगी अनुसार न्यूनतम् ज्याला निर्धारण, न्यूनतम् ज्याला लागू भए नभएको अनुगमन गर्न उच्च स्तरीय अनुगमन समिति गठन गर्न माग गरिएको छ ।
त्यस्तै, हरेक स्थानीय तहले संचालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा लैंगिक समानता र सामाजिक समावेशीकरणको आधारमा श्रमिकलाई रोजगारीको सुनिश्चितता, अपांगता भएका श्रमिकलाई समान ज्याला, रात्रीकालीन र जोखिम अवस्थामा संलग्न श्रमिक महिलाका लागि सुरक्षित कार्यस्थल व्यवस्थापन गर्न माग गरिएको छ । ज्ञापन पत्रमा हरेक कार्यालय, उद्योग र सार्वजनिक सरोकारका निकायहरुमा सेफ्टीप्याड, डिग्निटी किटसहित महिलामैत्री कार्यस्थल निर्माण, श्रममा आश्रित श्रमिकहरुको जोखिम राहतलाई सम्बोधन गर्न श्रमिक बीमा अनिवार्य गरिनु पर्ने माग गरिएको छ ।
महिला मानवअधिकार रक्षक संजाल, ओरेक नेपाल, मानवअधिकार संरक्षण केन्द्र संजाल, दलित जनकल्याण युवा क्लव, समग्र जनउत्थान केन्द्र, मुक्ति नेपाल लगायतका संघ संस्थाहरुले बुझाएको ज्ञापनपत्रमा वैदेशिक रोजगारमा जाने श्रमिकको ठगीमा संलग्न व्यक्ति संस्थामाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ । त्यस्तै, मानव बेचविखन विरुद्धको नीति र कानुनको प्रभावकारी कार्यान्वयन गर्न, कृषि मजदूरीमा आश्रित महिलाका बालबालिकाहरुको स्याहारका लागि काम गर्ने स्थानमा शिशु स्याहार केन्द्रको व्यवस्था, छुट्टै शौचालयको व्यवस्था गरी हिंसा र विभेदरहित वातावरण बनाउनु पर्ने उल्लेख छ ।
स्थानीय तहमा पनि ध्यानाकर्षण पत्र
स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना, लैंगिक समावेशीकरण नीति कार्यन्वयन, श्रमिक हेल्प डेस्को स्थापना, वर्गीकृत श्रमिक परिचय पत्र लगायतका माग गर्दै श्रमिक महिलाहरुको संजालले सोमबार कर्जन्हा र कल्याणपुर नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएको छ ।
११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा स्थानय तह स्तरीय श्रमिक महिलाहरुको संजालमार्फत् बुझाइएको ध्यानाकर्षण पत्र बुझ्दै स्थानीय तहहरुले महिलाहरुले उठाएको माग सम्बोधनका लागि अधिकतम् प्रयास गरिने प्रतिबद्धता जनाएका छन् । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादव, कर्जन्हा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी नानुमायाँ कट्टेलले ध्यानाकर्षण पत्रमार्फत् महिलाहरुले उठाएको माग सम्बोधन गर्ने बताए ।