सिरहाको हकपारामा जडीबुटी उद्यान उद्घाटन

संजुकुमारी दास
सिरहा । जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका २२ हकपारामा वनस्पति तथा जडीबुटी उद्यानको उद्घाटन गरिएको छ । स्थानीय थन्ही पोखरीको डिलमा शनिबार एक समारोहबीच अमृतको बिरुवा रोपेर उद्यानको उद्घाटन गरिएको हो ।
वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ, माटो र आमाको स्वास्थ्य सुधार अभियान, भान्सा नै औषधालय कार्यक्रम अन्तर्गत सिरहा २२ हकपारा पोखरीसहित करिब चार बिघा जग्गामा उद्यान संचालनसँगै एक सय आठ प्रजातीका जडीबुटीका बिरुवा रोपिने भएको छ । उद्यान क्षेत्रमा जैविक मल, विषादी बनाएर स्थानीय किसानलाई बिक्री गरिने, तरकारी खेतीसहित अमृतको नर्सरी लगाइने, पोखरी सौन्दर्यकरण गरी भविष्यमा पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको स्थानीय जनप्रतिनिधिहरुले बताए ।
परम्परागत विधिमा जोड
कार्यक्रममा सिरहा नगपालिका प्रमुख डा.नविनकुमार यादवले खेतीपाती गर्ने परम्परागत विधि र किसानले पालेको बस्तुभाउको गोबरबाट बनाउने प्राङ्गारिक, कम्पोष्ट मल समेत हराउँदै गएकाले रसायनिक मलको प्रयोग बढिरहेको बताए ।
‘रसायनिक मल हालेर उत्पादन गरिने तरकारी, अनाजमा हुने विषादीले दिनहुँ विभिन्न खालका रोगहरु देखा पर्दै गएको छ’ उनले भने ‘त्यसले आम उपभोक्ताहरु बिरामी पर्छन् जसले उमेर पनि घटाउँदै लगेको छ ।’ शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वका लागि सेवन गरिने खानेकुरामा अखाद्य वस्तु बढ्दै गएको जानकारी दिंदै उनले कोदो, जुनेलो जस्ता अन्नबाली उब्जाउन पुनः परम्परागत विधि अपनाउनु पर्नेमा जोड दिए । ‘सिरहा नगरपालिका क्षेत्रलाई भान्सा नै औषधालय, हाम्रो शहर शून्य फोहर बनाउँदै पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्छ’ उनले भने ।
सिरहा २२ का वडाध्यक्ष जीवछ नारायण यादवले यस्तो मौलिक अभियानको सबै जिल्लामा जरुरी रहेको औंल्याउँदै आफूहरुले जसरी भएपनि पूरा गर्ने प्रतिबद्धता जनाए । ‘त्यसका लागि वडा र नगरपालिकाबाट समेत बजेट छुट्याउन पहल गर्नेछु’ उनले भने ।
‘रसायनिक मलले माटो र आमा बिरामी’
उद्यानको उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष रोमलाल गिरीले नेपालीहरुको भान्सा र खेतबारीमा उपलब्ध हुने जडीबुटीलाई झारपात सम्झिएर फाल्ने गरिएको भएपनि त्यस्ता झारपातमा हुने औषधीय गुण र त्यसको उपयोगिता बारे बिस्तृत रुपमा जानकारी गराए । ‘रसायनिक मलको अत्यधिक प्रयोगले माटो बिरामी हुँदै गएको र माटो बिरामी हुँदा आमाहरुसँगै बालबालिका पनि बिरामी हुँदै गएका छन्’ अध्यक्ष गिरीले भने ‘मुलुकका लागि भविष्यका कर्णधार बालबालिका हुँदा सामाज नै बिरामी हुँदै गएको छ ।’
घरमा बालबच्चा रुदा आफ्नै घरमा पकाएर खुवाइने खाजाको ठाउँ प्याकिङ् गरिएको खानेकुराले लिंदै गएकोप्रति चिन्ता गर्दै उनले भने ‘त्यस्ता प्याकिङ् गरिएको खानेकुरामा रहने प्लाष्टिकजन्य वस्तुले बच्चाहरुको कलेजो खराब हुनुका साथै क्यान्सर समेत निम्त्याउन सक्ने जोखिम हुन्छ ।’
कार्यक्रममा सिरहाकी उप प्रमुख, विभिन्न वडाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवक, पूर्व जनप्रतिनिधि, समाजसेवी लगायत महासंघका जिल्ला पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।