महासंघको साधारणसभा, सदस्यता विवाद निरुपण गर्न जोड

सिरहा । श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सिरहा शाखाको बुधबार लहानमा आयोजित १४ औं साधारणसभामा सहभागीहरुले केन्द्रीय महाधिवेशन अगावै सदस्यता विवाद निरुपण गर्नुपर्नेमा माग गरेका छन् ।
साधारणसभामा सहभागी जिल्लाका पत्रकारहरुले महासंघको शुद्धीकरणको नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै जिल्लाले पठाएको सदस्यता नवीकरण र नयाँ सदस्यताको नामावलीमा प्रदेश समिति पनि मौन बसेकाले केन्द्रीय समितिले परेका उजुरीको निष्पक्ष छानबिन गरी महाधिवेशन अगावै सदस्यता विवाद निरुपण गर्नुपर्ने माग गरे ।
जिल्लाका पत्रकारहरुले उठाएको सवालप्रति आफ्नो पनि समर्थन रहेको चर्चा गर्दै महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले पछिल्लो निर्वाचनमा सहभागी भएका पत्रकारहरुमध्ये सदस्यता नवीकरण नगरिएकाहरुको हकमा आगामी २७ औं महाधिवेशन अगावै विवाद सल्ट्याइने उल्लेख गरे ।
विकसित मुलुकमा पनि साना लगानीका मिडियाहरुले भोग्दै आएको आर्थिक कठिनाई विरुद्ध सम्बन्धित मुलुकका सरकारले संरक्षणको नीति लिएको उल्लेख गर्दै उनले स्थानीय रोजगारी सिर्जना, नागरिकको नजिकको सूचना संवाहकको भूमिका खेलिरहेका नेपालका साना लगानीका मिडियाहरुलाई सरकारले नै संरक्षण गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले सूचना प्रविधिमा छलाङ् मासिकेको मिडिया क्षेत्रको व्यवसायिकता कमजोर हुन थालेपछि सदस्यता शुद्धीकरण अभियान थालिएको बताए । ‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन’ उनले भने ‘मौजुदा संवैधानिक, कानुनी व्यवस्था, मूल्य मान्यता पनि आत्मसात् गर्नसक्नु पर्छ ।’ प्रेसको नाममा बढ्दो गैरव्यवसायिक क्रियाकलाप, आचारसंहिता उल्लंघन, सामाजिक जवाफदेहिताका लागि पनि शुद्धीकरण गर्नै पर्ने भएकाले महासंघले अभियान चलाएको उनले बताए ।
महासंघका मधेश प्रदेश महासचिव श्याम बञ्जाराले पत्रकारिता क्षेत्रमा बढ्दै गएको विभिन्न खालको चुनौतीहरुको बीचबाट नै सम्भावनाहरु खोजिनु पर्ने औंल्याउँदै त्यसका लागि शाखामा आबद्ध सम्पूर्ण पत्रकारहरु एक जुट हुन आग्रह गरे ।
महासंघका शाखा अध्यक्ष मनोज कुमार बनैताको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव शिवदयाल यादव, कोषाध्यक्ष बीरेन्द्र प्रसाद नेपालले सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।