केजिन राईको नेतृत्वमा महासंघको युरोप शाखा चयन

जसमान दर्नाल
जर्मनी । नेपाल पत्रकार महासंघ युरोप शाखाको भर्चुअल रुपमा सम्पन्न पाँचांै अधिवेशनले गरिएको अधिवेशनले केजिन राईको अध्यक्षतामा ३६ सदस्यीय कार्य समिति चयन गरेको छ ।
अधिवेशनको बन्द सत्रले सर्वसम्मत रुपले चयन गरेको कार्यसमितिमा पाँच जना उपाध्यक्षहरु राजकुमार थापा, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, प्रेम पोमु, महासचिव शेरबहादुर परियार, उपमहासचिवहरु कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिवहरु महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ् छन् ।
शाखा सदस्यहरु जसमान दर्नाल जिवन (जर्मनी), भोला लामिछाने (स्पेन), वाइबी गुरुङ्
(डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), विनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), प्रकाश बगाले
(माल्टा) चयन भएका छन् । त्यस्तै, पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ् पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी), माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ् (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु शाखा सदस्यमा चयन भएका छन् ।
महासंघका केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खडका, सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रकृया टुंग्याइएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले बुधबार सम्पन्न अधिवेशनको उद्घाटन गर्दै ‘महासंघ बलियो भयो र एकताबद्ध भए आफूहरु बलियो हुने र जस्तोसुकै अप्ठ्यारोमा पनि लड्न सकिने बताए । बेनेलक्स तथा युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीसहित पत्रकारहरुको पेशगत संघ संगठनका पदाधिकारीहरुले भर्चुअल रुपमा अधिवेशन सफलताको शुभकामना दिएका दिए ।
नौ बुँदे प्रस्ताव पारित
अधिवेशनले युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघ संस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघ संस्थाहरुसँंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्ने तथा प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको । प्रवासमा कृयाशील महासंघका शाखाहरुलाई नेपालकै शाखा सरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन माग गरिएको छ ।
अधिवेशनले युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम तथा अन्य क्षमता अभिबृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाका लागि प्रतिबद्धता, श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गरेको छ ।
सञ्चार माध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग माग गर्दै स्वरोजगारमूलक मिडियाको सम्बद्र्धन र प्रबद्र्धन, समानुपातिक विज्ञापन वितरण र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत् दिइने भुक्तानी समयमा उपलब्ध गराउन अधिवेशनले माग गरेको छ । अधिवेशनले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेबार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्दै नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न माग गरेको छ ।
त्यस्तै, सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न माग गर्दै अधिवेशनले युरोप क्षेत्रमा रहेका नेपालीहरुको राहदानी नवीकरण गर्न नपाएर गैरकानुनी रुपमा बस्दा समस्या जटिल बन्दै गएकाले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ ।