आवास तथा भूमिको समस्या सम्बन्धी छलफल

सिरहा । जिल्लाका विभिन्न स्थानीय तहमा बसोबास गरिरहेका हरवा चरवा दलितहरुले आवास र भूमि नहुँदा विभिन्न समस्या झेलिरहेको गुनासो गर्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा गाउँमा पुस्तौंदेखि बसोबास गर्दै आएको २५ घरको दलित बस्ती रहेको जग्गा आफ्नो दावी गर्दै अर्को गाउँका व्यक्तिले बाटो हिंड्न रोक लगाउनुका साथै खानेपानीको धारा समेत उखेलेर फ्याँकि दिने गरेको गुनासो गरिन् । लहान नगरपालिका १७ तरेगना गाउँका बलिराम मोचीले दलित बस्ती रहेको गाउँब्लकको जग्गा नापी भएको वर्षौं बितेपनि जग्गाधनी प्रमाणपूर्जा नहुँदा समया भइरहेको बताए ।
द फ्रिडम फण्डको सहयोगमा दलित जनकल्याण युवा क्लवद्वारा बुधबार लहानमा आयोजित ‘हरवा चरवाको सवालमा आवास तथा भूमिको समस्या सम्बन्धी छलफल’ कार्यक्रममा सहभागीहरुले कानुनी स्वामित्वसहितको थातथलो नहुँदा भोग्नु परेको समस्याको बारेमा स्थानीय सरकारले पनि त्यति चासो नदेखाएको बताए ।
एकीकृत बस्ती र जग्गाको व्यवस्थापन
अन्तक्र्रियामा लहान नगरपालिकाकी उपप्रमुख सरियारकुमारी चौधरीले भूमिहीन दलित, सुकुम्बासी तथा बिपन्नहरुलाई जग्गा दिनेगरी नगरले थालेको काम आयोग विघटन भएसँगै रोकिएको बताइन् । ‘नगरपालिकाले आवासविहीनहरुका लागि एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन थालेको छ’ उनले भनिन् ‘नगरको ५ र ११ नं. वडामा एकीकृत बस्ती बनाएर आवासविहीन दलित समुदायका मुसहरहरुलाई राखेका छौं ।’
नगरको १९ नं. वडाको सोनमती मझौरामा पनि एकीकृत बस्ती बनाउने योजना रहेको जानकारी दिंदै उनले त्यसअघि बेसलाइन सर्वे गरी दलित समुदायका डोम र मुसहरलाई पहिलो प्राथमिकता दिइएको बताइन् । ‘बेसलाईन सर्वेक्षणको आधारमा कार्यविधि बनाएर आवासको व्यवस्था गरेका छौं’ उनले भनिन् ‘नगर क्षेत्रको ऐलानी जग्गा यकिन गरी भूमिहीन, सुकुम्बासी दलित बिपन्नहरुलाई बाँड्ने गरी काम गरिरहेका छौं तर लक्षित समुदायका मानिसहरु नै नगरले दिने जग्गामा घर बनाएर बस्न मानिरहेका छैनन् ।’ दलित, बिपन्नहरुको आर्थिक सवलीकरणका लागि सामूहिक खेती तथा सीपमूलक तालिम संचालन गरिनु पर्नेमा जोड दिंदै उनले त्यसका लागि नगरपालिकाले सीमित श्रोत साधनको बावजुद सघाउने उल्लेख गरिन् ।


गाउँब्लक जग्गाको लालपूर्जा बन्दै
कार्यक्रममा नापी कार्यालय लहानका प्रतिनिधि शरणप्रसाद साहले कार्यालयको जिम्मेबारी अन्तर्गत पर्ने साविकको ४८ वडा गा.वि.स.मा आ.व.२०७४/०७५ मै जोतभोगको आधारमा गाउँब्लक जग्गाको नापी भइसकेको बताए । त्यही नापीको आधारमा जग्गा नापजाँच ऐन २०१९ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रकृया पूरा गरी साविकको ११ गाविसमा गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा बाँडिसकेको साहले उल्लेख गरे ।
उनका अनुसार सिंगराही, मटियर्वा, लहानगोठ, पडरिया, बस्तीपुर, सिसवनी, ढोढना, हनुमाननगर, मोहनपुर कमलपुर, धनगढी, चैनपुर, नैनपुर, फुलकहाकट्टीमा गाउँब्लकजग्गाको लालपूर्जा बाँडिसकिएको छ । ‘जग्गा नापी भएको मितिको आधारमा पहिलो नापी भएकालाई पहिलो प्राथमिकता दिएर आवश्यक प्रकृया पूरा गरी चालु आ.व.२०७८/०७९ मा सोनमती मझौरा, ब्रम्हाण गोर्छारी, भदैया र भवानीपुर प्र.ध.मा जग्गाधनी पूर्जा बाँड्ने योजना छ’ उनले भने ‘नापजाँच भइसकेका गाउँब्लक जग्गा सम्बन्धी सबै प्रकृया स्थानीय तहसँगको समन्वयमा हुने भएकाले सम्बन्धित सबैजना स्थानीय तहको सम्पर्कमा रहनु पर्छ ।’