सिरहा । प्रकोपको समयमा प्रभावितहरुको जीवन रक्षाका लागि वितरण गरिने राहत सम्बन्धी छलफल कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारले बढी काम गर्नुपर्ने माग गरेका छन् ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत दलित जनकल्याण युवा क्लवद्वारा बुधबार आयोजित छलफल कार्यक्रममा सखुवानन्कारकट्टी ४ सखुवा गाउँकी अमिन्त्रा सदायले शीतलहर, वर्षात्, आगलागीको बेलामा स्थानीय जनताको आफ्नै गाउँको सरकारले राहतको व्यवस्थापन गरी प्रभावितहरुको जीवन रक्षा गर्नुपर्ने बताईन् ।
सखुवानन्कारकट्टी ३ की वडा सदस्य समेत रहेकी करियाहीदेवी सदायले फुसको छानो भएको घरमा बस्ने दलित, बिपन्न हरवा चरवालाई स्थानीय सरकारले जस्ताको छानासहितको पक्की घर निर्माण गरिदिन आग्रह गरिन् । ‘फुसको छाना भएकै कारणले आगालागीको प्रकोपबाट सबैभन्दा बढी पीडित दलित, बिपन्न, हरवा चरवाहरु हुन्छन्’ सदायले भनिन् ‘त्यसैले पक्की घर नभएपनि कम्तिमा फुसको छाना हटाएर जस्ता हाल्दा पनि आगलागीको जोखिम घट्थ्यो ।’
गाउँपालिकाले काम गर्दैछ : अध्यक्ष यादव
कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले गरिब, बिपन्न, दलितहरुका लागि आफू जहिले पनि संवेदनशील रहेको बताए । ‘फुसको छाना भएका दलित हरवा चरवालाई जस्ताको छाना हालिदिन बजेट छुट्याएर कतिपय ठाउँमा बाँडि पनि सकेका छौं’ अध्यक्ष यादवले भने ‘भान्साबाट हुन सक्ने आगलागी रोक्न गरिब बस्तीहरुमा १० हजार मूल्य बराबरको ग्याँस सिलिण्डरसहित चुलो समेत दिंदैछौं ।’
गाउँपालिकाका अध्यक्ष यादवले हरवा चरवा, सीमान्तकृत समुदायलाई प्रकोप सुरक्षित बनाउन गाउँपालिकाले नीतिगत व्यवस्थासहित काम गरिरहेको बताए । अध्यक्ष यादवले प्रायः दलित, गरिब, बिपन्न समुदायका हरवा चरवा प्रकोपमा बेलामा अप्ठ्यारोमा पर्ने भएकाले तिनको रक्षा गरी क्षति न्यूनीकरण गर्न गाउँपालिकाले कोष समेत खडा गरी पूर्व तयारीका लागि आवश्यक काम गरिरहेको उल्लेख गरे । गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवले गाउँसभाबाट कार्यक्रम पारित गरी बजेटसहित गाउँपालिकालाई हरवा चरवाका पक्षमा काम गराउन घच्घच्याई रहनु पर्ने बताईन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले प्रकोपमा परेकालाई गाउँपालिकाले आफ्नो क्षमता अनुसार तत्कालीन राहत दिंदै आएको बताए । दलित, गरिब, हरवा चरवाका लागि विभिन्न वडामा इँटाको भित्ता र जस्ताको छानासहित करिब डेढ सय वटा दुई कोठे घर बनाइरहेको चर्चा गर्दै प्रमुख प्रशासकीय अधिकृत महतोले प्रकोप प्रभावितहरुलाई तत्काल उपचारका लागि स्वास्थ्य संस्थासम्म जान न्यूनतम् शुल्कमा एम्बुलेन्स सेवा उपलब्ध गराउन कार्यविधि बनाउने तयारी रहेको उल्लेख गरे ।
प्रकोप पीडितहरुलाई तत्काल राहतका लागि गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष खडा गरेर काम गरिरहेको चर्चा गर्दै उनले भने ‘प्रकोप त हुन्छ नै तर त्यसको क्षति न्यूनीकरण गर्न के के गर्न सकन्छि, त्यसको असरबाट गरिब, दलित, हरवा चरवालाई कसरी जोेगाउने भन्ने मुख्य सवाल भएकाले मिलेर काम गर्नुपर्छ ।’ प्रकोपको सवालमा असारको १० गतेभित्रै छलफल कार्यक्रम हुँदा कार्यक्रम र बजेट छुट्याउन सहज हुने उनले बताए ।
कार्यक्रममा क्लवका कार्यक्रम संयोजक बहादुर सदायले आगलागी, शीतलहर, बाढीबाट प्रायः गरिब बिपन्नहरु प्रभावित बन्ने गरेको सन्दर्भमा स्थानीय सरकारले स्थानीय तह स्तरीय प्रकोप व्यवस्थापन समिति गठन गरी काम व्यवस्थित गर्नुपर्ने औंल्याए । हरवा चरवा अधिकार मञ्च सखुवानन्कारकट्टीका अध्यक्ष रतन सदायको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा क्लवकी आशा विश्वकर्माले प्रकोप प्रभावित हरवा चरवाको अवस्थाको बारेमा चर्चा गरेकी थिइन् ।