मधेस प्रदेश सरकारद्वारा उच्चस्तरीय समिति गठन

धनुषा । मधेस प्रदेश सरकारले प्रदेश अन्तर्गत पर्ने जिल्लाका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश सर्राफ रहेका छन् ।
समितिलाई कृषि तथा पशुपंक्षी विकास, किसानको मलखाद, बीउविजन तथा सिंचाई समस्या, बीमाको अवस्था, डुवान कटान तथा कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मध्ेश प्रदेशको भू–उपयोग नीति निर्माण एवम् मधेश सरकारले कषि सुधारको लागि गरेको गतिविधिको समीक्षा र आगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेबारी दिइएको सरकार प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
आगामी १५ दिन भित्र अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने गरी उच्च स्तरीय समितिलाई एक महिनामा पूर्ण प्रतिवेदन पेश गर्ने समय सिमा दिइएको प्रवक्ता साहले बताए ।