माघ १७ देखि गोलबजार मेयर गोल्डकप

सिरहा । खेलकूदको व्यवस्थित विकास र खेलाडीको उत्पादनका लागि आवधिक योजनासहित काम गरिरहेको गोलबजार नगरपालिकाले १७ माघदेखि ‘पाँचौं गोलबजार मेयर गोल्ड कप २०७८’ आयोजना गर्ने भएको छ ।
गोलबजार नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा हुन गईरहेको प्रतियोगितामा प्रदेश १, मधेस र बागमती प्रदेशका गरी १० वटा फुटबल क्लवहरुको सहभागिता रहने आयोजकले जनाएको छ । खेलकूद शाखाका प्रशिक्षक कसम लामाका अनुसार प्रतियोगितामा प्रदेश १ को तालतलैया फुटबल एकेडेमी सुनसरी, मधेस प्रदेशको सलहेश युवा क्लव सिरहा, गोलबजार स्पोर्टस क्लव, गोलबजार, बीरगंज युनाइटेड पर्सा, श्रृजना सामुदायिक विकास केन्द्र चोहर्वा, बेलगाछी फुटबल क्लव गौशाला, गोलबजार प्रतिभा क्लव गोलबजार र बागमती प्रदेशको मनहरी फुटबल क्लव हेटौंडा, नयाँ बस्ती युवा क्लव काठमाडौंको सहभागिता रहने छ ।
गोलबजार नगरपालिका २ स्थित गोलबजार एकीकृत खेलग्राममा १७ माघमा उद्घाटन गरी २६ माघमा फाइनल खेल हुने प्रशिक्षक लामाले बताए । उनका अनुसार गोल्ड कपको फाइनलमा प्रथम हुने क्लवलाई दुई लाख १५ हजार, दोस्रोलाई एक लाख १५ हजार, म्यान अफ द सिरिज १० हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी दिइने छ । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्स, उत्कृष्ट स्कोलर्स, उदयीमान खेलाडी र मिडफिल जनही पाँच हजार एक सय रुपैयाँ र म्यान अफ द म्याच तीन हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी प्रमाण पत्र दिइने प्रशिक्षक लामाले बताए ।