प्रदेश सरकारद्वारा क्षतिपूर्ति र दोषी उपर कारबाहीको माग

धनुषा । मधेस प्रदेश सरकारले राष्ट्रियसभा निर्वाचनमा भाग लिन जनकपुर आउने क्रममा १२ माघमा जनकपुरमा जनप्रतिनिधि चढेको सवारी साधनमा तोडफोड, चिकित्सकसहितमाथि भएको सांघातिक आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस विज्ञप्ति जारी गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा समेत किसान आन्दोलनको नाममा प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मे.सु डा. सतिश साह लगायतका व्यक्तिहरुमाथि गरिएको संघातिक आक्रमण भएको जनाएका छन् ।
व्यक्तिमाथि भएको सांघातिक आक्रमण र सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उपर कारबाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक ढंगले आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्बद्ध सबैमा प्रदेश सरकारले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।