उज्यालो गाउँ बस्ती, हिलो मुक्त वडा : मुसहर्निया

‘स्वच्छ खानेपानी – स्वस्थ्य जिन्दगानी, सबैमा बाली – रहने छैन खाली, सूचना संचार – जनजागरणको आधार, छैन अँध्यारो – सबै गाउँ बस्ती उज्यालो, मेरो भूमि मसँग’ लगायतका विषय धनगढीमाई नगरपालिका ९ का वडाध्यक्ष प्रकाश योञ्जनका चुनावी प्रतिबद्धता थिए । बौद्धिक व्यक्तित्व, स्वच्छ छवि, आफ्नो वडा क्षेत्रको मुहार फेर्ने प्रतिबद्धताको कारणले नै वडाध्यक्ष प्रकाश योञ्जनसहित पाँच जना नै नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भए । निर्वाचित भएसँगै वडाध्यक्ष योञ्जनको टिमले वडा क्षेत्रको समग्र विकासका लागि प्राथमिकता अनुसार पछिल्लो करिब पाँच वर्षको अवधिमा गरेको कामले वडा क्षेत्रका नागरिकले अपेक्षा गरे अनुसारकै विकास भएको स्थानीय अगुवाहरु बताउँछन् ।

खानेपानीको चरम संकट झेलिरहेको गाउँबस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउने चुनावी प्रतिबद्धता अनुसार निर्वाचित भएको पहिलो वर्षदेखि नै अल्पकालीन र दीर्घकालीन नीतिमार्फत् वडा क्षेत्रका प्रायः सबै वडाहरुमा खानेपानीको व्यवस्था गरिएको छ । वडाध्यक्ष योञ्जनका अनुसार खानेपानीका लागि वडा क्षेत्रका ५४ ठाउँमा बोरिङ् गरी पाइपमार्फत् घर घरमा धारा पुर्याइएको छ । वडा क्षेत्रमा बिजुली नपुगेका गाउँ बस्तीहरुमा वडा कार्यालयकै बजेटमा बिजुली पुर्याइएको छ । ‘पछिल्लो चार वर्षको अवधिमा वडा अन्तर्गत पर्ने प्रायः सबै बस्तीमा बिजुली पुगेको छ’ वडा सदस्य राजकुमार मोचीले भने ‘त्यसमा बिपन्न दलित र गरिब बस्तीहरुलाई प्राथमिकतामा राखेर काम गर्दा हरेक गाउँ बस्ती उज्यालो भएको छ ।’ वर्षामासमा हिलो र हिउँदमा धुलाम्मे सडक आफूहरु निर्वाचित भएपछि ग्राभेल र कालोपत्रे गरिएको वडा सदस्य मोचीले उल्लेख गरे ।
शिक्षा क्षेत्रको विकासका लागि गैरसरकारी संस्थासँगको समेत सहकार्यमा सामुदायिक विद्यालयमा अध्ययनरत दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोेग, वडा कार्यालयको समन्वयमा विद्यालय भवन निर्माण, वडा क्षेत्रका दलित बस्तीमा ट्युसन कक्षा संचालन समेत भइरहेको वडा सदस्य जानकीदेवी रामले बताइन् । त्यसबाहेक वडा अन्तर्गतका गाउँ बस्तीहरुमा धार्मिक आस्थाका मठ मन्दिर, गुम्बा, कब्रस्थानका लागि पनि वडा कार्यालयले उपभोक्ता समितिमार्फत् बजेट उपलब्ध गराएर काम गरिरहेको वडाध्यक्ष योञ्जन बताउँछन् ।


वडा कार्यालयमार्फत् हुने विकास निर्माण सम्बन्धी कार्यहरुको पारदर्शिताका लागि वडा कार्यालयको आफ्नै सामाजिक सञ्जाल पेज, एसएमएस, टोेल टोलमा सूचना पाटीको व्यवस्थापन गरिएको छ । पछिल्लो करिब पाँच वर्षको अवधिमा गरिएका विकास निर्माण सम्बन्धी कार्यले समाजमा सकरात्मक प्रभाव परेको छ’ स्थानीय अगुवा नवराज लामाले भन्छन् ‘व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक हितका लागि गरिएको कार्य वडाका बासिन्दाका लागि प्रशंसनीय छ ।’ स्थानीय तहका जनप्रतिनिधिले सरकारी साधन श्रोतको दुरुपयोग गरेको घटना सार्वजनिक भइरहेका बेला वडाध्यक्षले सरकारी सवारी साधन नगरपालिकालाई बुझाईदिएर आफ्नै निजी साधन चढ्नु पनि सह्रानीय कार्य रहेको लामाले उल्लेख गरे ।
विद्यालयमा फर्निचर व्यवस्थापन, गुणस्तरीय शिक्षामा जोड दिंदै शिक्षा क्षेत्रमा सबैको पहुँच पुर्याउन पछिल्लो करिब पाँच वर्षमा गरिएको प्रयासले सकारात्मक नतिजा देखाउन थालेको छ । वडा कार्यालय नजिकै अस्पताल स्थापना गरी स्थानीय बासिन्दालाई सुलभ र सहज ढंगले स्वास्थ्य सेवा पाउने व्यवस्था गरिएको छ । त्यसका अतिरिक्त निःशुल्क रुपमा प्राप्त हुने औषधि अभाव हुन दिइएको छैन । वडा कार्यालयले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रचार प्रसार गर्ने, परामर्श दिने काम गरिरहेको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री तथा बिपन्न नागरिकलाई राहतको व्यवस्थापन गरिएको छ ।


नगरपालिकाको सबै वडाहरुलाई सडक सञ्जालसँग जोड्ने याजना अनुरुप वडा क्षेत्रका सबै टोल बस्तीमा सडक मर्मत, स्तरोन्नति गरिनुका साथै साविक वडा न ९ को सिमाना सोनार टोल हुँदै पूर्व पश्चिम राजमार्गसम्म र श्री महावीर मा. वि. चैनपुरदेखि चैनपुर बजार, थिङ्ग टोल हँुदै मुसहर्निया पूर्व पश्चिम राजमार्गसम्म (दुई किलोमिटर) कालोपत्रे गरिएको छ । मिलन चोकदेखि महुवा डाँडा जाने बाटो उत्तर, मुसर्निया गुम्बा चोकदेखि चैनपुर बजार, टावर टोलका बाटोहरुसहित केही नयाँ कृषि बाटो निर्माण गरिएको छ । वडा क्षेत्रका सडक कालोपत्रे, ग्राभेलिङ् भएपछि सबै गाउँ हिलोमुक्त भइसकेका छन् ।