सिरहा । सूचना प्रविधिमा मुलुकभरमै नवौं स्थानमा परेको सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले अस्पतालका लागि जग्गादाता परिवारका पाँच दाजुभाई र सूचना प्रविधि अधिकृतलाई सम्मान गरेको छ ।
गाउँपालिकाको बिहीबार सम्पन्न १० औं गाउँसभामा सूचना प्रविधि अधिकृत विश्वेश्वर यादव र गाउँपालिकाभित्र १० शैय्याको अस्पताल निर्माणका लागि बाबुआमाको स्मृतिमा १० कठ्ठा जग्गा उपलब्ध गराएका दाजुभाई द्वारिकाप्रसाद यादव, बद्रीनारायण यादव, रामविलास यादव, रामप्रसाद यादव र रामकुमार यादवलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
प्रदेश सभा सदस्य अशोककुमार यादवको प्रमुख आतिथ्यमा गाउँपालिका केन्द्रको सभाकक्षमा आयोजित १० औं गाउँसभाले आर्थिक वर्ष २०७८/०७९ को नीति, बजेट तथा वार्षिक कार्यक्रम संशोधन अनुमोदन पारित गरेको छ । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोद्वारा प्रस्तुत आ.व.२०७८/०७९ को नीति, बजेट तथा वार्षिक कार्यक्रम संशोधन गाउँसभा सदस्यहरुले सर्वसम्मत रुपले पारित गरे ।
गाउँपालिकाको उल्लेखनीय प्रगति : अध्यक्ष यादव
गाउँसभामा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले स्थानीय तहको निर्वाचनपछि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सिमान्तकृत तथा पछाडि पारिएका समुदायको विकासमा ध्यान केन्द्रित गरिएको बताए । ‘गाउँपालिकाको १ देखि ५ वटै वडामा वडा स्तरीय विकास सम्बन्धी कार्यक्रमका लागि समान रुपमा बजेट उपलब्ध गरायौं’ गाउँपालिका अध्यक्ष यादवले भने ‘कृषि क्षेत्रको व्यवसायीकरण गर्न सिंचाईका लागि कृषि बिजुली बिस्तार गरिएको छ ।’
हरेक दलित तथा बिपन्न बस्तीमा शुद्ध खानेपानी उपलब्ध गराइएको उल्लेख गर्दै अध्यक्ष यादवले गाउँपालिका क्षेत्रमा पर्ने टोल बस्तीलाई जोेड्न प्राथमिकताको आधारमा आरसिसि ढलान सडक निर्माण, ग्राभेलिङ्, पुल, कालोपत्रे सडक निर्माण गरिएको बताए । शैक्षिक क्षेत्रको विकासका लागि विद्यालयलाई सूचना प्रविधि मैत्री बनाइएको, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियमित छलफल राखेर शिक्षा सम्बन्धी काम गरिनुका साथै विद्यालयमा भौतिक पूर्वाधारको विकास गरिएको उनले बताए ।