प्रदेश सरकारले छ सय ४० घर बनाउँदै

धनुषा । प्रदेश २ सरकारले प्रदेश अन्तर्गतका आठ जिल्लामा छ सय ४० घर निर्माण गर्ने भएको छ । महेन्द्र नारायण निधि बिपन्न आवास योजना २०७८ स्वीकृत भएपछि प्रदेश सरकारले छ सय ४० बिपन्न परिवारको घर बनाउन लागेको हो ।
मुख्ममन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले महेन्द्र नारायण निधि बिपन्न आवास योजना, कार्यान्वयन कार्यविधि २०७८ र दलित सशक्तिकरण नियामावली २०७८ स्वीकृत गरेको छ । बिपन्न आवास योजना २०७८ स्वीकृत भएपछि प्रदेश सरकारले आठ वटै जिल्लाका हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा १० का दरले ६ सय ४० बिपन्न परिवारको घर बनाइने प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
बिपन्न आवास योजना, कार्यान्वयन कार्यविधि अनुसार छनौटमा परेका असहाय र बिपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले बिपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सिमान्तकृत जाती, अनाथ बालबालिका, अशक्त बृद्धबृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने अर्थमन्त्री शैलेन्द्र साहले बताए । कुल पाँच लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा र एक शौचालय रहेको घर निर्माण गरिने निर्णयमा उल्लेख छ ।
आवास निर्माणको प्रक्रिया चालु आर्थिक वर्षदेखि नै द्रूत गतिमा अगाडि बढाईने जनाइएको छ । मन्त्रिपरिषद्ले दलित सशक्तिकरण नियामावली २०७८ स्वीकृत गरेपछि केही महिना अघि प्रदेश सरकारले गठन गरेको दलित सशक्तिकरण बोर्डलाई आफ्ना काम कारबाही अगाडि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।