भारतमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु, ३७ घाइते

काठमाडौं । भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा बिहीबार साँझ भएको रेल दुर्घटनामा नौ जना यात्रुको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
बिकानेर– गुवाहटी एक्सप्रेसको रेल दुर्घटनामा घाइते भएकामध्ये छ जनाको चिन्ताजनक अवस्थामा नर्थ बंगाल मेडिकल कलेज र सुलिगुडी अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा परेका अन्य घाइतेहरुको जलपाइगुडी र मायानागुरीमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनाग्रस्त रेलको डिब्बामा फसेका अन्य यात्रुहरुको सकुशल उद्धार गरी बिहीबार राती नै अर्को रेलमार्फत् गुवाहटी पठाइएको छ । भारतका केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव शुक्रबार बिहान घटनास्थल पुगेर निरीक्षण गरेका छन् । पश्चिम बंगालको मायानागुरी शहर नजिक बिहीबार साँझ बिकानेर– गुवाहटी एक्सप्रेसको रेलको १२ वटा डिब्बा लिकबाट उछिट्टिंदा दुर्घटना भएको थियो । घटनाको उच्चस्तरीय जाँच शुरु गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।