आङसाङ सुकीलाई थप जेल सजाय

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप चार वर्ष जेल सजाय सुनाइएको छ । म्यानमारको सेनाको मातहत रहेको एक अदालतले कम्तिमा तीन वटा अभियोगमा दोषी ठहर गर्दै सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
उनलाई अनाधिकृत रुपमा वाकीटकी प्रयोग गरेको र कोरोना भाइरस सम्बन्धी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा २÷२ वर्ष जेल सजाय सुनाइएको हो । सेनाले गत फेब्रुअरीमा भएको ‘कू’पछि ७६ वर्षीया सुकीलाई नियन्त्रणमा लिएर करिब एक दर्जन अभियोग लगाएको थियो । सुकीले भने सेनाले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएकी छन् ।
सुकीमाथि लगाइएका अभियोग राजनीतिक प्रेरित भएको सैनिक शासनका आलोचकहरू बताउँछन् । सेनाले लगाएका सबै अभियोगमा दोषी पाइएमा उनलाई एक सय वर्षभन्दा बढी जेल सजाय हुन सक्ने अलजजिराले जनाएको छ । गत महिना समेत प्रदर्शन उक्साएको र कोभिड–१९ सम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको भएपनि सैनिक नेतृत्वले पछि उक्त सजाय कटौती गरी दुई वर्षमा झारेको थियो ।