सिरहा । लहानस्थित पशुपति आदर्श मा.वि.मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुले आफूहरुलाई लेख्नका लागि चाहिने आधारभूत सामग्री नै नहुँदा दैनिक पठनपाठनमा समस्या भइरहेको गुनासो गरेका छन् ।
उक्त मा.वि.मा सिरहा सप्तरीका विभिन्न स्थानीय तहमा घर भएका एक छात्रासहित आठ जना विद्यार्थी पढिरहेका छन् । दृष्टिविहीन विद्यार्थीका लागि विद्यालय परिसरमा संचालित छात्रावासमा बसेर कक्षा १० पढिरहेका अजित रजक भन्छन् ‘एसइइ परीक्षा आइसक्यो, विषयगत रुपमा ब्रेललिपी पुस्तकहरु त पायौं तर लेख्नका लागि स्लेट र स्टाइलर्स नहुँदा समस्या भइरहेको छ ।’
‘ब्रेललिपीको पुस्तक पढेपछि परीक्षाको तयारीका लागि लेख्न स्लेट र स्टाइलर्स चाहिन्छ’ रजकले भने ‘तर आपूर्ति नभएको भन्दै शैक्षिक सत्र शुरु भएको नवौं महिनासम्म पनि पाएका छैनौं ।’ रजकले जस्तै आउँदो एसइइ परीक्षाको तयारीका लागि समस्या भइरहेको गुनासो गर्छन्, कक्षा १० का अर्का विद्यार्थी रामइश्वरकुमार महतो । ‘विद्यालय र फोकल शिक्षकलाई धेरै पल्ट भन्दा पनि नयाँ पाएनौं’ महतोले भने ‘त्यसबाहेक दृष्टिविहीन विद्यार्थीका लागि गणितका सामग्रीहरु नहुँदा परीक्षाको तयारी गर्न अर्को समस्या थपिएको छ ।’
विद्यालयको छात्रावासमा बसेर रजक र महतोसहित कक्षा १० का रामकुमार पासवान, श्याम ठाकुर र तेजनारायण महतो कक्षा ४, मो. अनबर राइन कक्षा ५,अञ्जली यादव कक्षा ९ मा पढिरहेको दृष्टिविहीन विद्यार्थीका फोकल शिक्षक शोभितलाल चौधरीले बताए ।
रकम नपाएको गुनासो
दृष्टिविहीन कल्याण संघमार्फत् प्रति महिना पाँच सय रुपैयाँको दरले हरेक शैक्षिक सत्रको १० महिनाको पाँच हजार रुपैयाँ सम्बन्धित विद्यार्थीलाई दिइने गरिएको विद्यालयका प्रधानाध्यापक डा.महेन्द्रप्रसाद चौधरीले जानकारी दिए । विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुले शैक्षिक सत्र २०७६ को रकम पनि नपाएको गुनासो गरेको सन्दर्भमा उनले भने ‘म प्र.अ. हुनु अगावैको रकम हो, के भयो, त्यतिबेलाकै प्र.अ.को जिम्मेबारीको कुरा हो ।’
त्यसयता शैक्षिक सत्र २०७७ को रकम बाँडिसकिएको र २०७८ को रकम निकासा भएपछि बाँड्ने योजना रहेको उनले बताए । त्यसबाहेक उनीहरुलाई विद्यालयले आन्तरिक श्रोतबाट जाडोका लागि एक÷ एक थान स्वेटर र विद्यालय पोसाक दिइएको उनले बताए । ‘सामान्य अवस्थाका विद्यार्थीलाई वर्षको एक पटक विद्यालय पोसाक दिन्छौं’ दृष्टिविहीन विद्यार्थीलाई वर्षको दुई पल्ट दिने गरी योजना बनाएका छौं ।’ उनले भने ।
मगाएको सामान नआउँदा समस्या
फोकल शिक्षक चौधरीले दृष्टिविहीन विद्यार्थीलाई लेख्नका लागि चाहिने स्टाइलर्स र स्लेट धरान र काठमाडौंमा मात्र पाइने हुँदा मगाएको भएपनि नआएको बताए । ‘कोभिड– १९ को महामारीले पनि विद्यालय प्रशासनले दृष्टिविहीन विद्यार्थीको माग अनुसारको सामान उपलब्ध गराउन सकेन’ उनले भने ‘पछिल्लो पल्ट काठमाडौंबाट मगाएका छौं, यो महिनाको अन्तिमसम्म उपलब्ध गराउँछौं ।’
बाहिरबाट आपूर्ति गर्नुपर्ने सामान चाहिएको समयमा दिन नसकेपनि उनीहरुका लागि विद्यालयले गर्न सक्ने काम भने गरिरहेको उनको भनाई छ । दृष्टिविहीन विद्यार्थी छात्रावासमा बस्ने भएपनि दैनिक खाना र खाजाको प्रबन्ध विद्यालय स्वयम्ले गरिरहेको प्र.अ. डा. चौधरीको भनाई छ ।