गोलबजारमा स्थनीय तह स्तरीय रनिङ् शिल्ड प्रतियोगिता

सिरहा । खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि आवधिक योजनासहित विभिन्न खेलकूद कार्यक्रमहरु गरिरहेको गोलबजार नगरपालिकाले प्रथम स्थानीय तह राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०७८ आयोजना गर्ने भएको छ ।
गोलबजार नगरको शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा आगामी माघ ७ र ८ गते गोलबजार नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालय सहभागी हुनेगरी प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नगर क्षेत्रका १०+२ का चार, १० सम्मका दुई गरी छ र संस्थागततर्फ छ वटा विद्यालय सहभागी हुने खेलकूद प्रशिक्षक कसम लामाले जानकारी दिए ।
प्रशिक्षक लामाका अनुसार प्रतियोगितामा सम्बन्धित विद्यालयमा ९ देखि १२ कक्षासम्म पढिरहेका १८ वर्ष ननाघेका विद्यार्थीहरुको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत कबड्डी र एथलेटिक्स गोेलबजारस्थित जनता नमूना मा.वि.को खेलकूद चौर र कराँते तथा तेक्वान्दो गोलबजार कवर्ड हलमा हुने प्रशिक्षक लामाले बताए ।