दिल्लीमा दुई दिन कफ्र्यु, कर्मचारीले घरबाटै काम गर्नुपर्ने

एजेन्सी । भारतको संघीय राजधानी दिल्लीमा कोभिड– १९ का संक्रमित बढ्दै गएपछि हप्ताको दुई दिन कफ्र्यु लगाइने भएको छ ।
संक्रमणको फैलावट रोक्न प्रतिबन्धात्मक नियममा थप कडाइ गर्दै दिल्ली सरकारले हप्ताको अन्तिम दिन शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । कफ्र्यु शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी रहने जनाइएको छ । कफ्र्युबाहेक दिल्लीमा सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय भएको भारतीय समाचार माध्यमले जनाएका छन् । नियमित कार्यालय बन्द भएपनि सरकारी कर्मचारीले घरबाटै वा अनलाइनमा काम गर्नुपर्ने भएको छ ।
कोभिड– १९ को संक्रमण बढ्न नदिन दिल्लीमा पूर्ण क्षमतामा मेट्रो र बस संचालन गर्ने निर्णय समेत भएको छ । बस स्टेशनमा यात्रुको भिड नहोस् भनेर मेट्रो र बस पूर्ण क्षमतामा संचालन गर्ने निर्णय भएपनि मेट्रो र बसमा यात्रा गर्दा मास्क अनिवार्य गरिएको छ । दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना हुनुपर्ने अवस्था नआएको र यसको लक्षण सामान्य भएकाले योभन्दा कडा प्रतिबन्ध लगाउन आवश्यक नरहेको बताए । सरकारले अर्को निर्णय नगरुञ्जेल शनिबार र आइतबार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत सिसोदियाले आग्रह गरेका छन् ।
पछिल्लो समय दिल्लीमा कोभिड–१९ का संक्रमितहरुको संख्या बढिरहेका छन् । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ संक्रमित थपिएका छन् भने सोमबारसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या तीन सय ५१ पुगेको छ ।