सिरहा कांग्रेस सभापतिलाई ज्यान मार्ने धम्की

सिरहा । संघीय सरकारको सत्ता गठबन्धनको नेतृत्वमा रहेको नेपाली कांग्रेस सिराहाका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई सरुवा भइसकेका एसपीले आफ्नो सरुवा गराएको भन्दै मध्यरातमा घरमै पुगेर गोली हानिदिने धम्की दिएका छन् ।
सिराहाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले सरुवाको खवर पाएपछि आक्रोशित मदिरा सेवन गरेर सोमबार बिहान करिब डेढ बजेतिर जिल्ला प्रहरी कार्यालयकै भ्यानमा धनगढीमाई नगरपालिका ९ जिरोमाइलस्थित सभापति यादवको घरमा आएर ज्यान मार्ने धम्की दिएको जिल्ला सभापति यादवले बताए । ‘खाना खाएर सुत्न खोज्दै गर्दा आइतबार राती साढे १० बजेतिर पाण्डेले फोन गरेर मेरो सरुवा गराईदिनु भयो, म आउँदैछु’ भन्दै धम्याएको यादवले उल्लेख गरे ।
‘एसपीले आउँदैछु भन्दै धम्क्याएपनि जिल्ला आएको वर्ष दिन नपुग्दै सरुवा भएको आक्रोश होला भन्दै म सुतिसकेको थिएँ’ उनले भने ‘निन्द्रामै घरको आँगनमा पाण्डे बाहिर गालीगलौज गर्दै बेला बेला पेस्तेल निकालेर बाहिर निस्किन धम्क्याइरहेको आवाज सुनपछि ब्युझिएँ ।’ त्यतिबेलै गृहमन्त्री, प्रमुख जिल्ला अधिकारीलाई फोन गरेपछि राती २ बजेतिर जिल्लाबाट आएको टोलीले एसपी पाण्डेलाई लिएर गएको उनले बताए ।
‘पाण्डेको सरुवामा मेरो कुनै भूमिका नै छैन’ उनले भने ‘कर्तव्य ज्यानका प्रतिवादीलाई छुटाउन दवाव दिएको भन्ने आरोप झुठो हो ।’ गत ११ कात्तिकमा हत्या गरिएका किसन धामीको हत्यामा संलग्न रहेको आरोपमा सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेपछि आफूले छुटाउन दवाव दिएको भन्ने एसपीको दावी गलत भएको उनले बताए ।
जिल्ला सभापति यादवको घरमा मार्छु भन्दै आएको विषयमा प्रहरी उपरीक्षक पाण्डेसँग सोमबार दिउँसो बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालयबाट रवाना लिएर हिंडिसकेका थिए । ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखको रुपमा सरुवा भएर आएका एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर जिम्म्ेबारी खोसिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले एसपी पाण्डे रमाना लिएर हिंडिसक्नु भएकाले घटनाको बारेमा आफूले केही बताउन नसक्ने बताए । एसपी पाण्डे गृहमा तानिएपछि सिरहा प्रहरी प्रमुखमा एसपी अर्जुन तिमिल्सस्ना आएका छन् ।
पण्डेलाई बर्खास्त गरी कारबाहीको माग
जिल्ला सभापतिलाई प्रहरी प्रमुखले घरमै पुगेर ज्यान मार्ने धम्की दिएपछि कांग्रेस कार्यकर्ताहरुले सोमबार मध्यान्ह करिब एक घण्टा पूर्व पश्चिम सडकको जिरोमाइल खण्डमा टायर बालेर सडक अबरुद्ध गरेका थिए । कांग्रेसका जिल्ला सभापति यादव र उपसभापति उपेन्द्र यादवले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अमर्यादित व्यवहार प्रदर्शन र ज्यान मार्ने धम्की दिने प्रहरी उपरीक्षक पाण्डेलाई तत्काल बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्न माग गरेका छन् ।
सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले घटनाको विषयमा गृह मन्त्रालयबाट नै छानबिन थालिएकाले आफूले केही बोल्न नमिल्ने बताए । ‘घटनाको विषयमा बुझ्न सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारसहितको टोली आएर जिल्ला सभापति यादवसँग भेटघाट र गोलबजारमा छलफल गरेर फर्किनु भएको छ’ प्रजिअ कवारीले भने ‘बाँकी छानबिन भएपछि नै केही भन्न सकिएला ।’