मानसिक सन्तुलन गुमाएकी महिलालाई आर्थिक सहयोग

मोरङ् । मोबाइलको सिम चोरी गरेको आरोपमा छिमेकीको कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी दलित महिलालाई अमेरिकामा बस्ने नेपालीहरुमार्फत् प्राप्त आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
कुटपिटमा मानसिक सन्तुलन गुमाएकी मोरङ् कानेपोखरी गाउँपालिका ५ चिसाङ् बस्तीकी २५ वर्षीया शोभा दर्जीलाई पत्रकारहरुको टोलीले शनिबार घरमै पुगेर आर्थिक सहयोग उपलब्ध गराएको हो । कुटपिटमा गम्भिर घाइते भई मानसिक सन्तुलन गुमेपछि दर्जीको चार महिनासम्म धरानस्थित वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो । उपचार गराउँदा तिर्न बाँकी रहेको ऋण तिर्न अमेरिका बस्ने रमेश दर्नाल, दिपक परियार, दिलिप नेपाली, रायन लामगादे र पुण्यवती रम्तेलले ५० हजार रुपैयाँ सहयोग गराएका हुन् ।
विराटनगरका अधिवक्ता जयराम सुन्दासमार्फत् प्राप्त नगद सहयोग रकम शनिबार दलित अभियानकर्ता तथा नयाँ पत्रिका दैनिकका प्रदेश १ समाचार ब्युरो प्रमुख गणेश लम्सालसहितको टोलीले पीडित दर्जीलाई हस्तान्तरण गर्यो । सहयोग रकम पाए लगत्तै दर्जीले औषधि खर्चवापत् तिर्नुपर्ने चार लाख रुपैयाँमध्ये ५० हजार विराट औषधि पसलका प्रतिनिधि बेनुप ढकाललाई प्रदान गरिन् ।
उपचारको अझै पाँच लाख ऋण
प्रतिष्ठानमा उपचार गराउँदा विराट औषधि पसललाई अझै तीन लाख ७५ हजार रुपैयाँ तिर्न बाँकी रहेको दर्जीले बताइन् । उपचारको क्रममा क्यान्टिन र अन्य पसलको गरेर अझै पाँच लाख रुपैयाँ तिर्न बाँकी रहेको शोभाका बाबु हर्कमान दर्जीले गुनासो गरे ।
गत जेठ १ गते दर्जीलाई छिमेकी महिलाहरुको समूहले मोबाइलको सिम चोरी गरेको अरोपमा निर्घात कुटपिट गरेपछि उनको मानसिक सन्तुलन गुमेको थियो । कुटपिटकै कारण उनको चार महिनाको गर्भ पनि खेर गएको थियो ।
कुटपिट गर्नेहरु धरौटीमा रिहा
दर्जीलाई कुटपिट गर्नेहरु मोरङ् कानेपोखी गाउँपालिका ५ का २६ वर्षीया पुष्पा र २५ वर्षीया निरमाया मगर, ५४ वर्षीया बिन्दा र ३० वर्षीया बबिता मगर अदालतबाट धरौटीमा छुटेका छन् ।
आरोपीहरु जातीय विभेद तथा छुवाछूत गरेको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । कुटपिटको कारणले मानसिक सन्तुलन गुमेर चार महिनाको गर्भ खेर गए पनि कुटपिट गर्नेहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता नगराएको पीडित परिवारको गुनासो छ ।


दृष्टिविहीनहरुलाई कपडा र चामल
मोरङ् कटहरी २ आदर्श टोलका जन्मेदेखि दृष्टिविहीन मरिक समुदायका सात वर्षीय लल्कु, चार वर्षीय कृष्ण र उनीहरुका दुई दिदी बहिनीहरुलाई मनकारीहरुले दिएको न्यानो कपडा र ५० किलो चामल समेत प्रदान गरिएको छ ।
दर्जीलाई आर्थिक सहयोग उपलब्ध गराएपछि लम्सालको नेतृत्वमा प्रशिक्षार्थी पत्रकार स्मृति तिम्सिना, हाम्रो मत दैनिकका सम्पादक अर्जुन आचार्य र प्रेस सेन्टर नेपाल विराटनगर महानगरका अध्यक्ष श्रीमन्त भट्टराईसहितको टोलीले मरिक बालबालिकालाई न्यानो कपडा र ५० किलो चामल हस्तान्तरण गरेको हो ।