सिरहा । हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत सिरहाको लहानमा हरवा चरवाका लागि पैरवी योजना निर्माण सम्बन्धी तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको आयोजनामा सम्पन्न तालिममा शम्भुनाथ, बोदेबर्साइन र डाकनेश्वरी नगरपालिका तथा रुपनी गाउँपालिकाका स्थानीय तह स्तरीय हरवा चरवा मञ्चका अगुवा, स्थानीय तहका योजना शाखाका कर्मचारी र पत्रकारहरुको सहभागिता थियो ।
तालिममा हरवा चरवाको सवाल र समस्यामा फरक, मूल सवालको पहिचान, सवालको कारण र असर, पैरवी, पैरवीको लक्ष्य र उद्देश्य, पैरवीका मूलभूत पक्षको बारेमा छलफल गरिएको कार्यक्रम संयोजक शारदा चौधरीले बताइन् । कार्यक्रम संयोजक चौधरीका अनुसार तालिममा हरवा चरवाको परिवेश र अवस्था, श्रोतको खोजी, सरोकारवाला र समर्थकको पहिचान, पैरवी योजना र चक्र सम्बन्धी बुझाईको बारेमा सैद्धान्तिक छलफल र समूहगत अभ्यास गरिएको थियो ।
सामाजिक अभियानकर्ता सोनालाल चौधरीको सहजीकरण रहेको तालिममा सहभागीहरुले हरवा चरवाको सवाल सम्बोधनका लागि राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य अधिकारसँग सम्बन्धित सवालहरु समेटेर वार्षिक कार्ययोजना समेत बनाएका छन् ।
अधिकारका लागि मिलेर लडौं
तालिममा सहभागी डाकनेश्वरी नगरपालिका योना शाखाका अधिकृत विनोदकुमार ठाकुरले हरवा चरवाको समस्या सम्बोधनका लागि मिलेर लड्नु पर्ने खाँचो औंल्याए । ‘हरवा चरवाको मूलतः थातवासको समस्या छ’ योजना शाखा प्रमुख ठाकुरले भने ‘हरवा चरवाको अधिकारका लागि स्थानीय सरकार पनि हातेमालो गर्न तयार छ तर अगुवाहरुले निरन्तर घच्घच्याइरहनु पर्छ ।’
डाकनेश्वरी ५ की निर्मलादेवी रामले भनिन् ‘तालिममा छलफल र समूहगत अभ्यासमार्फत् जानेका कुरालाई हरवा चरवा अधिकारका लागि उपयोग गर्न सकिए आफूहरुले उठाएका मागहरु सम्बाधन हुन सक्ने बताईन् । तालिम समापनमा पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवाको सवालमा मिडिया पैरवीको पनि महत्वपूर्ण भूमिका रहेको औल्याउँदै त्यसका लागि विभिन्न मिडयामा आबद्ध पत्रकार र अधिकारकर्मीहरुसँग निरन्तर समन्वय गर्न आग्रह गरे । पत्रकार विश्वकर्माले दलित समुदायका बहुसंख्यक हरवा चरवाको सवालमा संघीय सरकारको आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रमको बारेमा प्रष्ट्याउनु भएको थियो ।