महासंघद्वारा एक करोडको कोष स्थापना गर्ने निर्णय

सर्लाही । नेपाल पत्रकार महासंघ प्रदेश २ ले श्रमजीवी पत्रकारहरुका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । सर्लाहीको हरिवनमा बिहीबार सम्पन्न पाँचौं बैठकले विभिन्न सात बुँदे घोषणापत्र जारी गर्दै श्रमजीवी पत्रकारकाहरुको कल्याणका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
उच्च नैतिक आचरण र आत्म समीक्षा
महासंघले पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिता पालनासहित उच्च नैतिक आचरण प्रदर्शन र आत्समीक्षा गरिनु पर्ने, पेशागत सुरक्षा र भौतिक सुरक्षाका लागि सबै जिल्ला शाखाहरुको अग्रसरता रहनु पर्ने घोषणा पत्रमा उल्लेख छ ।
त्यस्तै, पत्रकारहरुको निवृत्तिभरण लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने, कामबाट निकालिएका पत्रकारहरुको पुनर्बहालीका लागि पहल गर्ने भनिएको छ । कोभिड– १९ को संक्रमणले निधन भएका पत्रकार, पीडित पत्रकार र संचारगृहलाई प्रदेश सरकारले राहत नदिएको भन्दै त्यसका लागि पुनः ध्यानाकर्षण गराइने घोषणापत्रमा उल्लेख छ ।
नैतिक पत्रकारिता सम्बन्धी कार्यशाला
महासंघको बैठक अघि सम्पन्न ‘नैतिक पत्रकारिता : आजको आवश्यकता’ विषयक कार्यशालामा पत्रकारहरुसँग सम्बन्धित विभिन्न नैतिक सवालहरुको विषयमा छलफल गरिएको थियो । कार्यशालामा मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि भट्टराईले काउन्सिलसँग पत्रकारहरुले अपेक्षा गर्नु स्वभाविक रहेको भएपनि बजेट नै ढिलो निकासा दिंदा समस्या भइरहेको बताए ।
महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले संविधान प्रदत्त वाक् तथा प्रेस स्वतन्त्रतासहितको अधिकार भएकाले त्यसको दुरुपयोग गर्न नहुने बताए । ‘पत्रकार पनि समाजकै व्यक्ति भएकाले आफूलाई विशिष्ट नठानेर पत्रकार आचारसंहिता र नैतिकताको पालना गर्नुपर्छ’ केन्द्रीय सदस्य लामिछानेले भने । महासंघ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णले नैतिकता हनन् सम्बन्धी उजुरी आएको खण्डमा महासंघले छानबिन गर्ने र सदस्यताबाट समेत बञ्चित गरिने उल्लेख गरे ।
उखुको लाँक्राले सम्मान
महासंघको प्रदेश समितिको बैठकमा सहभागी पत्रकारहरुलाई उखुको लाँक्रासहित तरकारीको माला बनाएर सम्मान गरिएको छ । हरिवनस्थित सगुन सहकारीको सभाकक्षामा सम्पन्न बैठकपछि नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले उखु काट्न शुरु भएपनि उखुको मूल्य कायम नभइरहेको सन्दर्भमा किसानको समस्यालाई उजागर गरिदिन आग्रह गर्दै पत्रकारहरुलाई उखुको लाँक्राले सम्मान गएिको हो ।
त्यस्तै, लालबन्दीस्थित तरकारी बजार समितिका तर्फबाट पत्रकारहरुलाई गोलभेंडा, भाण्टा, खुर्सानी, काँक्रा, मुला लगायतको तरकारीको माला लगाइदिएर सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्श सर्लाहीका पदाधिकारीहरुले पत्रकारहरुलाई खादा र ढाका टोपी लगाइदिएर सम्मान गरेका थिए ।