अग्नि पीडितलाई राहत वितरण

सप्तरी । धर्मी हल्फा महिला विकास क्लव सप्तरीले जिल्लाको दक्षिणी सीमावर्ती डाकनेश्वरी नगरपालिका १० रंजितपुर गाउँका तीन घरधुरी अग्नि पीडितहरुलाई राहत बाँडेको छ ।
क्लवले गोठमा बालेको घुरबाट सल्किएर आगलागीमा परेका स्थानीय बलवीर यादव, धनवीर यादव र बद्रीनारायण यादवको परिवारलाई भाँडावर्तन, लत्ताकपडा, त्रिपालसहितको राहत बाँडेको हो । क्लवका अध्यक्ष इञ्जिनियर सूर्यनारायण यादवले पीडितहरुलाई प्रति परिवार एक थान त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल गिलास, कराही, डेक्ची र छोलनी लगायतका सामग्रीहरु हस्तान्तरण गरे ।
राहत वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय पातोका प्रमुख प्रहरी नायाव निरीक्षक अमिरी यादव, नेपाली कांग्रेस सप्तरीका महाअधिवेशन प्रतिनिधि भगवती यादव, पत्रकारद्वय महेंद्र सदा र श्याम सुन्दर यादव लगायतको उपस्थिति थियो ।