सिरहा । पूर्व– पश्चिम सडक अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडक बिस्तार तीब्र रुपमा भइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याजदरको ऋण लगानीमा विभिन्न खण्डमा कल्भर्ट, पुल र सडक बिस्तार तीब्र रुपमा निर्माण भइरहेको छ ।
सडक विभागको एडिवी निर्देशनालयका अनुसार करिब १५ अर्बमा काम सक्ने गरी चिनियाँ कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ् ग्रुपले सडक बिस्तारको दुवै खण्डमा ठेक्का पाएपछि निर्माणले तीब्रता पाएको छ । करिब ८७ किलोमिटरको यो सडकको बीचमा ‘मेडियन’ (डिभाइडर संरचना) निर्माण गरिनुका साथै दुईतर्फ ७– ७ मिटर र एउटा लेन साढे ३ मिटरको रहने जनाइएको छ ।
कमला– कंचनपुर सकड खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८ दशमलव ११ कि.मी. खण्ड चार लेन र कंचनपुर, जण्डोल, बीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा गरी कुल ३२ दशमलव ६ कि.मी. खण्ड ६ लेनको रहने छ । लहान र रुपनीमा अण्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुल समेत बनाइने जनाइएको छ ।