महिना दिनमै युट्युवमा आधा दर्जन बढी नेपाली चलचित्र

काठमाडौं । कोरोना महामारीको बेलामा भएको लकडाउनमा सिनेमा हल बन्द हुँदा युट्युबमा समेत नेपाली चलचित्र सार्वजनिक भएका थिएनन् । तर, पछिल्लो समयमा युट्युवमा एकपछि अर्को गरी धमाधम नेपाली चलचित्र सार्वजनिक गर्ने क्रम बढेको छ ।
पछिल्लो नोभेम्बर र डिसेम्बर दुई महिनामा युट्युवमार्फत् नेपाली चलचित्र सार्वजनिक हुने क्रम बढेको छ । अंग्रेजी वर्षको अन्तिम महिना डिसेम्बरमा संख्यात्मक रुपले बढी नेपाली चलचित्र युट्युवमार्फत् सार्वजनिक भएका छन् । डिसेम्बर महिनाको चौथो हप्तासम्म केही पुराना चलचित्र समेत गरी आधा दर्जन बढी नेपाली चलचित्र युट्युवमा अपलोड भएका छन् ।
डिसेम्बर २६ मा नेपाली चलचित्र ‘पसिना’ पुरानो चलचित्र ‘विष’ युट्युवमा अपलोड गरिएको छ भने सोमबार पुरानो नेपाली चलचित्र ‘त्रिशुल’ युट्युवमा अपलोड गरिएको छ । युट्युवमा डिसेम्बर २५ मा पुरानो नेपाली चलचित्र ‘धुर्वे’ अपलोड गरिएको छ । त्यस्तै, डिसेम्बर २४ मा चलचित्र ‘ब्लाइन्ड रक्स’, डिसेम्बर २३ मा ‘श्री’, डिसेम्बर १९ मा ‘मंगलम र ‘नाका’ पनि युट्युवमार्फत् सार्वजनिक गरिएको थियो । डिसेम्बर १४ मा चलचित्र ‘कबड्डी ३’ र डिसेम्बर ६ मा ‘घामड शेरे’ युट्युवमा सार्वजनिक गरिएको थियो ।
पछिल्लो नोभेम्बर महिनामा पनि थुप्रै नेपाली चलचित्र युट्युवमार्फत् सार्वजनिक गरिएको थियो । नोभेम्बर महिनामा युट्युवमार्फत् ‘पुरानो बुलेट’, ‘यात्रा’, ‘लम्फू’, ‘हजार जुनीसम्म’, ‘डाइङ् क्याण्डिल’ लगायतका चलचित्र सार्वजनिक गरिएका थिए । पछिल्लो समय युट्युवमा धमाधम नेपाली चलचित्र सार्वजनिक हुनुको मुख्य कारण विज्ञापन रहेको चलचित्रकर्मीहरु बताउँछन् ।