सप्तरी । प्रहरीले चेकजाँचको क्रममा सप्तरीको दुई छुट्टाछुट्टै ठाउँबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् ९ पुसमा बोदेबरसाईन नगरपालिका ५ जाँजरबाट लागूऔषधसहित पक्राउ गरिएका कंचनरुप नगरपालिका ८ बस्ने ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन ५ जाँजर बस्ने २१ वर्षीय मो.अब्दुललाई सार्वजनिक गरेको हो ।
रात्री बसबाट ठूलो परिमाणमा लागूऔषध राजधानी लगिंदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले राजविराज २ स्थित राईस मिलको गुलाव ग्यारेज अगाडि राखिएको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसको खातलासी गर्दा दुई भुजेल र अब्दुललाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पक्राउ परेकाहरुले बसमा लुकाएर राखेको नाइट्राभेट १० लेखिएको दुई हजार एक सय ट्याब्लेट र एक सय एमएलको तीन सय ९९ बोतल डाइलेक्स डिसी बरामद गरिएको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
ब्राउनसुगरसहित दुई पक्राउ
पूर्व पश्चिम सडकको हनुमाननगर कंकालिनी नगरपालिका १ खण्डमा प्रहरीले चेकजाँचको क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र–०१–००१ प ३१४० नम्बरको मोटरसाईकलबाट दुई जनालाई आठ ग्राम पाँच सय ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चढेका सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र धनगढीमाई नगरपालिका ११ बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतोलाई ब्राउनसुगरसहित पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
साढे सात हजार बोट गाँजा फडानी
सप्तरी प्रहरीले गाँजाको बोट पूर्ण रुपले नष्ट गर्ने अभियान अन्तर्गत चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि हालसम्म जिल्लाका विभिन्न ठाउँमा गरी करिब साढे सात हजार थान गाँजाको बोट फडानी गरी नष्ट गरिएको जनाएको छ ।
सप्तरी प्रहरीका सूचना अधिकारी काफ्लेका अनुसार चालु आ.व.मा हालसम्म सात हजार चार सय ६९ थान गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । उनका अनुसार सप्तरी प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक अविनारायण काफ्ले आएपछि १५ मंसिरदेखि १० पुससम्म चार हजार सात सय नौ थान गाँजाको बोट नष्ट गरिएको छ ।