सिरहा । उखुको मूल्य नतोकिदिंदा किसानहरु अन्यौलमै रहेका बेला सिरहाको नरहा गाउँपालिका ३ चोहर्वास्थित हिमालय सुगर मिल्सले शून्य मूल्य राखेर किसानहरुबाट उखु खरिद गरी क्रसिङ् गर्न थालेको छ ।
उखु काट्ने सिजन शुरु भइसकेकाले मिल्सले शून्य मूल्य राखेर ७ पुसदेखि उखु किसानहरुबाट उखु खरिद गरी क्रसिङ् सुरु गरेको हो । सरकारले उखुको मूल्य निर्धारण गरेपछि किसानलाई पनि सरकारी दररेट अनुसारको मूल्य उपलब्ध गराउने गरी उखु खरिद गरेर क्रसिङ् थालिएको मिल्सका महाप्रबन्धक अवधकिशोर यादवले बताए । मिल्सले यो वर्ष १३ लाख क्वीण्टल उखु क्रसिङ् गर्ने लक्ष्य राखेको महाप्रबन्धक यादवले उल्लेख गरे ।
‘पछिल्लो सिजनमा सिराहाका विभिन्न ठाउँका किसानबाट खरिद गरिएको छ लाख र धनुषाबाट खरिद गरिएको पाँच लाख गरी ११ लाख क्वीण्टल उखु क्रसिङ् गरिएको थियो’ उनले भने ‘एक सिजनमा मिल्सलेउखु क्रसिङ् गरी करिब सवा लाख क्वीण्टल चिनी उत्पादन गर्दै आएको छ ।
’
उनका अनुसार सरकारले गत वर्ष तोकेको उखुको मूल्य प्रति क्वीण्टल पाँच सय ४४ रुपैयाँ बाहेक मिल्सले ढुवानीमा दूरीको आधारमा किसानलाई बढीमा ६५ रुपैयाँ प्रति क्वीण्टल उपलब्ध गराएको बताए । ‘सवारी साधनको इन्धनको मूल्य बढेकाले यो पल्ट उखु ढुवानीमा १० रुपैयाँसम्म थप गर्ने योजना छ’ उनले भने ।
सरकारी अनुदान अझै बाँकी
धनुषाको नक्टाझिजमा शनिबर आयोजित उखु किसानहरुको भेलामा मिल्सका कार्यकारी संचालक सर्राफले आफूहरुले पछिल्लो वर्षको मूल्यमा प्रति क्वीण्टल ४० रुपैयाँ थप गरी पाँच सय ८४ रुपैयाँ कायम गरिएको बताए । ‘सरकारले यो वर्ष तोक्ने मूल्य त्यो भन्दा कम भयो भने पनि पाँचसय ८४ रुपैयाँ उपलब्ध गराउँछौं’ सर्राफले भने । धनुषाको पश्चिमी क्षेत्रबाट मिल्ससम्म उखु ढुवानी गर्ने किसानलाई दिंदै आएको प्रति क्वीण्टल ६५ रुपैयाँमा १० रुपैयाँ थप गरिएको उनले बताए ।
उखु किसानहरुको भेलाले नेपाल सरकारबाट उखुको अनुदानवापत् प्राप्त हुने २०७५ सालको अनुदान रकम ७५ रुपैयाँ समेत तत्काल उपलब्ध गराउन माग गरेको छ । किसानहरुको मागलाई मध्यनजर गर्दै सरकारले अनुदानवापत् प्रति क्वीण्टल ६५ रुपैयाँको दरको उपलब्ध गराउने ५३ लाख रुपैयाँ दामासाही रुपमा मिल्सले उपलब्ध गराउने जनाइएको छ । मिल्सले किसानहरुलाई उखुको बीउको गुणस्तर बृद्धिका लागि पोलिब्याग वितरण गर्ने जनाएको छ ।