लहानमा ‘हरेक महिनाको हरेक शनिबार’ क्यान्सर जाँच

लहान । सिराहाको लहान नगरपालिका ७ स्थित क्यान्सर केयर सेन्टरमा शनिबार ‘हरेक महिनाको हरेक शनिबार’ क्यान्सर जाँच अभियान शुरु गरिएको छ ।
झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालसँगको सहकार्यमा सेन्टरमा संक्षिप्त समारोहबीच शनिबार जाँच अभियानको थालनी गरिएको हो । लहान नगरकी उपप्रमुख सरियारकुमारी चौधरीले पानसमा बत्ती बालेर प्रमुख अभियानको थालनी गर्दै क्यान्सर जस्तो जटिल रोगको पहिचानका लागि सेन्टरले थालेको अभियानमा नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक समेत रहेका क्यान्सर विशेषज्ञ डा. बीरेन्द्र यादवले संकोच, त्रासको कारणले तराईका जिल्लामा भयावह रुप लिंदै गएको क्यान्सर रोगको बेलैमा पहिचान गर्न समस्या भइरहेको सन्दर्भमा हरेक शनिबारको जाँचले बेलैमा रोगको पहिचान गर्न सकिने बताए । ‘बेलैमा क्यान्सरको पहिचान गर्न सकिए उपचार गरेर निको पार्न सकिन्छ’ डा. यादवले भने ‘नियामित जाँचको अतिरिक्त समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम समेत संचालन गरिनु पर्छ ।’
बेलैमा पहिचान, बेलैमा उपचार
नेपालमा खासगरी पाठेघरको मुख र स्तन क्यान्सर रोगी महिलाको संख्या बढिरहेको उल्लेख गर्दै डा. यादवले शुरुकै चरणमा पहिचान गर्न सकिए रोगको निदान गर्न सकिने उल्लेख गरे । ‘त्यसका लागि जाँच अभियानले थप सघाउने छ’ उनले भने । डा. यादवका अनुसार कुल क्यान्सर रोगीमध्ये पाठेघरको मुख र स्तन क्यान्सरका बिरामी महिलाको संख्या ३० देखि ३५ प्रतिशतको हाराहारीमा रहेका छन् ।
पाठेघरको मुखको क्यान्सरसहित नाक, कान, घाँटीका क्यान्सर बिरामीहरुको संख्या समेत बढिरहेको उल्लेख गर्दै उनले भने ‘हरेक हप्ता हरेक क्यान्सरका विशेषज्ञहरुद्वारा जाँच गरी रोगको पहिचान गरिनेछ ।’ कार्यक्रममा अस्पतालका बालरोग क्यान्सर विशेषज्ञ डा. ऋतु लामिछाने, डा. मुक्ति देवकोटा, डा. बजरंगप्रसाद साह लगायतले बदलिंदो जीवनशैली, खानपान लगायतको कारणले बढ्दै गएको क्यान्सर रोगको निदानका लागि सजग हुनु पर्ने औंल्याए ।
सेन्टरलाई २० लाखदेखि करोडसम्म सहयोग
लहान क्षेत्रका उद्योगी, व्यवसायी तथा समाजसेवीहरुको पहलमा भक्तपुर क्यानन्सर अस्पतालको सहकार्यमा १० फागुन २०७० देखि लहान ५ मा नगरपालिकाले उपलब्ध गराएको भवनमा क्यान्सर केयर सेन्टर संचालन भइरहेको थियो । उक्त भवन साँघुरो भएपछि सेन्टरको आग्रहमा नगरपालिकाले पुनः लहान ७ मा वबारुणयन्त्र राख्न बनाएको दुई तले भवन उपलब्ध गराएपछि सेन्टरले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्यापस्मियर, स्तनको क्यान्सर जाँच गर्दै आएको अध्यक्ष अशोकलाल अमात्यले बताए ।


पछिल्लो आठ वर्षदेखि दाताहरुको सहयोगको भरमा संचालन हुँदै आएको सेन्टरका लागि व्यक्तिगत रुपमा २० लाखदेखि संस्थागत रुपमा एक करोड रुपैयाँसम्म सहयोग प्राप्त भएको अध्यक्ष अमात्यले बताए । करिब २८ वर्षकै उमेरमा क्यान्सर रोगले थलिएर निधन भएकी आमा पानोदेवी महतोको स्मृतिमा लहान ३ घर रहेका कृषि फर्म व्यवसायी चन्द्रनारायाण कुशवाहाले सेन्टरलाई २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
त्यस्तै, परोपकारी संस्था लायन्स इन्टरनेशनलले ३२५ ए २ मार्फत् लायन्स क्लव अफ लहान सिटीले सेन्टरलाई क्यान्सर रोगको पहिचान र उपचारका लागि एक करोड रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको छ । सेन्टरका अनुसार लहान नगरपालिकाले क्यान्सर अस्पतालका लागि १८ नं. वडा पकडियागढमा २३ बिघा जग्गा उपलब्ध गराएको छ ।