बंगलादेशमा यात्रुबाहक पानीजहाजमा आगलागी, ३२ जनाको मृत्यु

एजेन्सी ।  बंगलादेशको राजधानी ढाकाबाट यात्रु बोकेर जाँदै गरेको यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । करिब पाँच सय जना यात्रु बोकेको सानो आकारको पानीजहाज (फेरी) मा शुक्रबार बिहान दक्षिणी बंगलादेशको झलोकथी शहर जनिकै आगो लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
राजधानी ढाकाबाट करिब दुई सय ५० किलोमिटर दक्षिण पर्ने झलोकथी शहरतिर जाँदै गरेको ओबिजान १० नामक तीन तले पानीजहाजमा ढाकाबाट घर फर्किंदै गरेका मानिसहरू सवार थिए । आगलागीमा परी ज्यान गुमाएका ३६ जनाको शव बरामद भएको स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताएका छन् । प्रहरीका अनुसार आगो लागेको जहाजबाट ३६ जनाको शव बरामद भएपनि मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । पानीजहाजमा आगो लागेपछि अधिकांशको जलेर र केहीको नदीमा हाम फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीजहाजको इञ्जिन कक्षबाट शुरु भएको आगो चारैतिर फैलिएको संचारमाध्यमले जनाएका छन् । संचारमाध्यमहरुका अनुसार आगोमा जलेर एक सय जनाभन्दा बढी जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।