आर्थिक सहयोगको लागि याचना गर्दै महरा परिवार

धनुषा ।  पछिल्लो केही वर्षदेखि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउन आर्थिक अभाव झेल्दै आएकी धनुषाको नगराइन नगरपालिका ७ की तेतरीदेवीको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारजनले याचना गरेका छन् ।
कृषि मजदुरी गरेर जीविका चलाउँदै आएका गुरकन महराले श्रीमतीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गराउन नसक्दा स्वास्थ्य समस्या बढ्दै गएको गुनासो गरे । ‘मजदुरी गरेर परिवारको भरणपोषण गर्न धौ धौ परिरहेकाले श्रीमतीको उपचार गराउन सकेको छैन’ महराले भने ‘स्थानीय जनप्रतिनिधि, गाउँघरका छरछिमेकसँग थोरबहुत सहयेग उठाएर उपचार त गराएँ तर शल्यक्रिया गराउन सकेको छैन ।’
गाउँब्लकको जग्गामा झुपडी भएकाले बिना धितो कसैले ऋणकर्जा नपत्याएको पीडितकी ससुरा गुलमा महराले गुनासो गरे । ‘शल्यक्रिया गराउन सकिए मेरी बुहारी अझै बाँच्छिन्’ महराले भने ‘तर आर्थिक अभावले राम्रो उपचार गराउन सकेको छैन ।’ बुहारीको उपचारका लागि आर्थिक सहयोग गर्न महराले अपिल गरेका छन् ।