गोलबजारमा छुरा प्रहार गरी हत्या, पाँच जना पक्राउ

लहान ।  सिराहाको गोलबजार नगरपालिका ६ मा चार दिनअघि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले गोलबजार क्षेत्रका पाँच जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी र गोलबजार प्रहरीको संयुक्त टालीले गोलबजार नगरपालिका ६ डोहोटिया गाउँका करिब २६ वर्षीय राम कुमार सदाको हत्यामा संलग्न रहेको आरोपमा गोलबजार २ का करिब २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं. ६ का १९ वर्षीय श्रवण कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा गोलबजार ६ का २० वर्षीय कालु भनिने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव छन् । पक्राउ परेका पाँच जनालाई सिराहा जिल्ला अदालत उपस्थित गराई अनुसन्धानका लागि थप पाँच दिन म्याद लिइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले बताए ।
यस्तो थियो घटना
स्थानीयका अनुसार ३ पुसको राती करिब साढे ८ बजेतिर स्थानीय लक्ष्मी मन्दिर हुँदै डोहोटिया गाउँ जाँदै गरेका रामकुमार सदासहितको समूहसँग मन्दिर नजिकै बसिरहेको दिपक साहसहितको समूहसँग विवाद भएको थियो । आफ्नो घरतिर जाने क्रममा बोल्दै गईरहेको सदाको समूहलाई ‘किन हल्ला गरेको’ भनेपछि विवाद हुँदा साहको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।


छुरा प्रहारपछि रामकुमार र २६ वर्षीय रिकेश सदा गम्भिर घाइते भएपछि स्थानीयले तत्काल उद्धार गरी स्थानीय भूमिजा अस्पतालमा उपचार गरी थप उपचारका लागि धनगढीमाई नगरपालिका ९ मुसहर्नियास्थित आर.के.मेडिसिटी अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा रामकुमारको निधन भएपछि भोलिपल्ट सोमबार स्थानीयले पूर्व पश्चिम सडकको गोलबजार खण्ड अबरुद्ध गरेका थिए ।
स्थानीय प्रशासनले घटनामा संलग्नहरुलाई जसरी भएपनि पक्राउ गरी कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएपछि अबरुद्ध सडक खुलाइएको थियो । छुरा प्रहारमा गम्भिर घाइते भएका रिकेशको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।