बोक्सीको आरोपमा आफ्नै छोराद्वारा हत्यादेखि अंगभंगसम्म, जनप्रतिनिधि मौन

सिरहा । सिराहाको कर्जन्हा नगरपालिका ३ खैरहा टोलकी ९० वर्षीया सुदामादेवी साह सोनार । पति सिकीलाल साह सोनारको निधन भएपछि एकल जीवन बिताउँदै आएकी थिइन् । कान्छो छोरा रामअवतार साहले ११ कात्तिक २०७७ को दिउँसो बुहारी मनिषा साह सोनारको खुट्टाको औंलामा भएको घाउ निको बनाउन चासो नदिएको भन्दै सुदामादेवीको घाँटीमा गम्छाले बाँधेर घिसार्दै कुटपिट गर्नुका साथै मलमूल कोच्याउने प्रयास गरे ।
‘गाउँमा कोही बिरामी हुँदा देखभाल गर्ने तर आप्mनै नातिनी बुहारी बिरामी हुँदा बेवास्ता गर्ने’ भन्दै घाँटीमा गम्छाले बाँधेर लछारपछार गर्दै मलमूल कोच्याउन खोज्दा घाँटीको हाड भाँचिएर गम्भिर बिरामी बनेकी सुदामादेवीको चार दिनपछि १५ कात्तिकको साँझ मृत्यु भएको थियो । कथित बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएर मलमूल कोच्याउने खोजिएकी सुदामादेवीलाई जेठो छोरा रामबहादुर साह सोनारले त्यही दिन साँझ उपचारका लागि जनकपुरस्थित रामजानकी मेडिकल कलेज पुर्याएका थिए ।


घाँटीको भाँचिएको हाडको शल्यक्रिया गर्न अन्यत्र लैजानु पर्ने भनिएपछि मजदुरी गरेर जीविका चलाउँदै आएका रामबहादुरले आर्थिक अवस्थाले धान्न नसक्ने ठानेर गम्भिर अवस्थाकी आमालाई घटनाको भोलिपल्ट १२ कात्तिकको अपरान्ह घर ल्याएका थिए । गम्भिर अवस्थाकी आमालाई किन घरमा ल्याएको भन्दै स्थानीय गाउँलेहरुले कराएपछि त्यही दिन राती ९ बजेतिर कान्छो छोरा रामअवतार र भतिज कमल साह सोनार मिलेर पुनः जनकपुर पुर्याएका थिए ।
अस्पतालले भोलिपल्ट पुनः डिस्चार्ज गरेपछि १३ कात्तिकको दिउँसो ४ बजेतिर सुदामादेवीलाई घर ल्याए लगत्तै रामअवतारलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रामअवतारलाई पक्राउ गरेको करिब पाँच छण्टापछि राती ९ बजेतिर सिराहा अस्पताललाई बोक्सीको आरोपमा कुटिएकी बृद्धाको अवस्था गम्भिर रहेको जानकारी गराएको जेठा छोरा रामबहादुर सम्झिन्छन् । ‘त्यसपछि आमालाई सिराहा अस्पताल राती नै लग्यौं, अस्पताल प्रवेश गर्नुअघि मूल गेटमै आमाको दुःखद् निधन भयो’ करिब एक वर्षअघिको घटना स्मरण गर्दै उनले भने ।
छिमेकीद्वारा कुटिंदा ढाडमा चोट, ऋण गरेर उपचार
सिराहाको कल्याणपुर नगरपालिका ६ भोक्राहा गाउँकी ३६ वर्षीया बविताकुमारी साह । गाउँमा सामान्य खेतीपाती गरेर जीविका चलाउँदै आएकी साह कथित बोक्सीको टुनामुना गरेर स्थानीय बृद्धलाई बिरामी बनाएको भन्दै छिमेकीहरुबाट दुई÷दुई पल्ट निर्घात कुटइिन् । गत फागुनदेखि जेठ महिनासम्म दुई÷दुई पल्ट कुटिएपछि हात, खुट्टा, ढाडमा गम्भिर चोट लागेकी साह धनगढीको मुुसहर्नियास्थित आर.के. मेडिसिटी अस्पतालमा करिब चार महिनासम्म थेरापीसहितको उपचारमा ऋण गरेर करिब दुई लाख रुपैयाँ खर्चिएपछि केही तंग्रिएकी त छन् तर गह्रौं काम गर्न सकस हुने गरेको गुनासो गर्छिन् ।
२५ फागुन २०७७ बिहान करिब १० बजेतिर घरधन्दा गरिरहेकी साहलाई स्थानीय ३२ वर्षीय धिरेन्द्र महासेठ र उनका भाई अनिलले बृद्ध बाबुलाई जादुटुना गरी बिरामी बनाएको भन्दै निर्घात कुटपिट गरेको तीन महिना छ दिनपछि गत २९ जेठको राती करिब ८ बजेतिर पुनः घरमै आएर पाँच जनाको समूहले निर्मम कुटपिट गरेपछि ढाडमा गम्भिर चोट लागेको पीडित साहले बताइन् ।
बंगाराको हड्डी भाँचियो, मुख चलाउनै गाह्रो
सिराहाको सीमावर्ती नवराजपुर गाउँपालिका ५ कुर्सण्डी गाउँकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई बोक्सी बकाउन छरछिमेक र गाउँलेहरुले २७ भदौ २०७७ को मध्यरातमा निर्घात कुटपिट गरी मलमूत्र कोच्याउने क्रममा बायाँ बंगाराको हाड भाँचिएर राम्ररी मुख समेत चलाउन नसक्ने अवस्थामा छन् ।
बंगाराको हाड भाँचिएर गम्भिर बिरामी परेकी यादवलाई करिब दुई लाख रुपैयाँ ऋण गरेको रकम खर्चिएर १३ दिनसम्म धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको पति रामनारायण यादवले बताए । ‘ऋण कर्जा गरेर उपचार त गराएँ, मुख राम्ररी चलाउन हुँदैन’ रामनारायणले भने
पटक पटक कुटिएपछि विक्षिप्त
मिर्चैया नगरपालिका ९ ढोढना गाउँकी ५९ वर्षीया बासु चौधरीलाई घरकै व्यक्ति बिरामी हुँदा झाँक्रीले घरमै बोक्सी छ भनेपछि गाउँका सडक दुर्घटनामा मरेका व्यक्तिलाई समेत उनैले टुनामुना गरेर मारेको भन्दै हत्या नै गर्न खोजेपछि प्रहरीले उद्धार गरेको थियो । २५ पुस २०७७ का दिन स्थानीय अंजित चौधरीकी भाउजुले आफ्नो पतिको निधन हुनुमा पनि चौधरीले टुनामुना गरेको भन्दै कुटपिट गरेपछि गाउँलहरुको भिड उर्लेर उनको हत्या गर्ने योजना बनाएको महिला अधिकारकर्मी बताउँछन् ।
२१ पुस २०७७ को दिउँसो गाउँकै बिसुन चौधरी चोहर्वामा ट्रकबाट खसेर गम्भिर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको बात पनि पीडित बासुमथि नै लाग्यो । त्यसको तीन दिनपछि २४ पुसमा गाउँका करिब १५ वर्षीय मुस्कान चौधरी काम्दै बासुलाई बोक्सीको बात लगाएको महिला अधिकारकर्मीको भनाई छ । महिला अधिकारकर्मीका अनुसार त्यसको भालिपल्ट गाउँका चार जना महिलाहरु पनि काम्दै बोक्सीको आरोप लगाएपछि अंजितकी भाउजुले टुनामुना गरेर आफ्नो पतिलाई मारेको भन्दै आरोप लगाएपछि अंजित लगायत दर्जनौ गाउँलेहको भिडले पछि उनलाई कुटपिट गर्दै मार्ने योजना बनाएको अधिकारकर्मीले बताए ।
कुटपिट भइरहेको सूचना पाए लगत्तै उद्धारका लागि मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीलाई गाउँलेहरुको भिडले ‘यो बोक्सीलाई गाउँमै मार्छौं’ भन्दै रोक्न खोजेपछि सशस्त्र प्रहरी बलको सहयोगमा उद्धार गरी उपचारपछि करिब तीन महिना सुरक्षा बासमा राखिए पनि विक्षिप्त बनेकी छन् । प्रहरीले दर्ता गरेको बोक्सीको आरोप सम्बन्धी मुद्दा सुनुवाईकै क्रममा छ तर पीडित खान मन नलाग्ने, निद्रा नलाग्ने, झसंग हुने, डर लाग्ने, बेला बेलामा रुने गरिरहेको परिवारले जनाएको छ ।
बोक्सी आरोप बाहेक अन्य रेकर्ड छैन प्रहरीमा
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकी भन्छन् ‘चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सारश्वर र कल्याणपुरका गरी दुई वटा बोक्सीको आरोप सम्बन्धी मुद्दा दर्ता भएको छ । ‘मैले जिम्मेबारी सम्हालेपछि बोक्सीको आरोपमा गालीगलौज, कुटपिट बाहेक पीडितको हत्या, अंगभंग, आत्महत्या जस्ता घटना भएको जानकारीमा छैन ।’
प्रहरीको तथ्यांकमा आर्थिक वर्ष २०७३÷०७४ देखि २०७७÷७८ सम्म भएका २० वटा कथित बोक्सीको आरोप सम्बन्धी मुद्दामा कर्जन्हा ३ की सुदामादेवी साहको हत्या, नवराजपुर ५ की मूर्तिदेवीलाई बोक्सीको आरोपमा कुटपिट गर्दा बंगाराको हाड भाँचिएको बाहेक हत्या, अंगभंग र आत्महत्याको घटना नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनु भयो ।