कमला नदीमा निर्मित झोलुङ्गे पुल आवतजावत गर्न खुला

सिरहा । सिरहाको पश्चिम दक्षिणी भेग र धनुषाको पूर्वी भेगमा पर्ने कमला तटीय क्षेत्रका बासिन्दालाई कमला पुलमा झोलुङ्गे पुल निर्माण भएपछि ठूलो राहत भएको छ । सिरहा र धनुषा जोड्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै सर्वसाधारणलाई आवतजावत गर्न खुला गरिएपछि स्थानीय बासिन्दालाई राहत भएको हो ।
कमला नदीसँगै जोडिएको सिरहा नगरपालिका १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको पुल निर्माणमा संलग्न सहायक सुपरभाइजर समेत रहेका इञ्जिनियर अनिल मण्डलले जानकारी दिए । नेपालमै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लामो र एक दशमलव दुई मिटर चौडाइ रहेको उक्त झोलुङ्गे पुलको अन्तिम प्राविधिक जाँचपछि शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
‘पुलको विधिवत् उद्घाटन भएको छैन’ इञ्जिनियर मण्डलले भने ‘पुल नहुँदा वर्षौंदेखि सास्ती झेल्दै आएका कमला तटीय क्षेत्रमा पर्ने सिरहा र धनुषाका सर्वसाधारणको आवतजावत सहजताका लागि खुला गरिएको हो ।’
संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले ठक्का सम्झौता गरी १ असोज २०७९ देखि थालेको पुल निर्माण ठेक्का अवधिभन्दा छ महिना अगावै सम्पन्न भएको उनले बताए । उक्त पुल निर्माणको ठेक्का सम्झौता २०८१ असार मसान्तसम्म रहेको जनाइएको छ । पुल खुला गरिएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको सिरहा नगरपालिका १३ पटेर्वाका २६ वर्षीय दिपेश यादवले बताए ।


‘हुलाकी सडकमा निर्माण गरिएको पक्की पुल संचालन नहुँदै भासिएपछि सिरहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न पूर्व पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता थियो’ उनले भने ‘हुलाकी सडकबाट करिब चार किलोमिटर दक्षिणमा झोलुङ्गे पुल निर्माण भएसँगै दूरी छोटिएपछि सिरहाको मल्हनिया, माडर, पटेर्वा, गम्हरिया र पूर्वी धनुषाको पतनुका, खजुरी चेन्हा, महुवा, बलहा सघारा, माचीझिटकैयाका सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुगेको छ ।’
झोलुङ्गे पुल नहुँदा सिरहाका सर्वसाधारण वर्षाका बेला धनुषापट्टि जान करिब १८ किलोमिटर उत्तरको पूर्व पश्चिम राजमार्गमा पर्ने बन्दीपुर वा पाँच किलोमिटर दक्षिण पर्ने भारतको जयनगर हुँदै जानु पर्ने बाध्यता रहेको स्थानीय ४५ वर्षीय दिलिप महतोले बताए । पुल निर्माणपछि पूर्वी धनुषाबाट सिरहा बजारमा कृषि उपज तथा अन्य सामग्री खरिद बिक्रीका लागि आउने तथा सिरहाबाट पूर्वी धनुषाका विभिन्न ठाउँमा जान सहज भएको उनले बताए ।