सिरहा । बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ परी जिल्ला सरकारी वकिल कार्यालय नजिकबाट हत्कडी खुस्काएर फरार भएका थुनुवा २४ घण्टा नपुग्दै पुनः प्रहरीको फन्दामा परेका छन् ।
सिरहाको लहान नगपालिका २१ घर भएका करिब ३० वर्षीय छोटु सदाय शनिबार दिउँसो लुकिछिपी बसिरहेको अवस्थामा पुन पक्राउ परेका हुन् । खोजतलासको क्रममा सिरहाको कल्याणपुर नगरपालिका १२ थलहाबाट सदायलाई पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार लहानस्थित इलाका प्रहरी कार्यलयका प्रहरी सहायक हबल्दार देवकुमार यादवको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले सदायलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहा पुर्याएर थप अनुसन्धान थालिएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ दिनाजपुर सरञ्चिया गाउँको भित्री सडक खण्डमा नाबालिकालाई यौन दुव्यैवहार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले सदायलाई ५ पुसमा लहान १९ बेतहाबाट पक्राउ गरी लहान प्रहरीमा ल्याइएको उनले बताए ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार त्यसको भोलिपल्ट शुक्रबार प्रहरी सहायक निरीक्षक विनेश यादवको कमाण्डमा ६ जना प्रहरीसहित तीन जना थुनुवालाई कानुनी प्रकृयाको लागि सिरहा जिल्ला अदालत पठाइएको थियो । सिरहा लगिएका तीन थुनुवामध्ये बाल यौन दुरव्र्यवहारमा अनुसन्धानका लागि पक्राउ गरिएका सदायको सरकारी वकिल कार्यालयमा मिशिल देखाउने क्रममा कार्यालयको गेट अगाडिबाट हत्कडी खुस्काई फरार भएपनि तत्काल व्यापक प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा सदाय पक्राउ परेको उनले बताए ।