‘विकास र समृद्धि नचाहनेहरुको गलत कुरा सुनेर नगरको बद्नाम गराउन खोजियो’

सप्तरी । सुरुङ्गा नगरपालिकाले विकास निर्माण र समृद्धिका लागि निष्ठापूर्वक काम गरिरहेको भएपनि विकास समृद्धि नचाहने केही स्वार्थ समूहहरुको कुरा सुनेर नगरपालिकालाई बद्नाम गराउन खोजिएको जनाएको छ ।
नगर प्रमुख गीता चौधरीले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत् प्रचलित ऐन, कानुन, कार्यविधि अनुसार पारदर्शी ढंगले नगर र नगरबासीहरुको विकास निर्माण र समृद्धिमा निष्ठापूर्वक काम गरिरहेको भएपनि केही स्वार्थ समूहहरुको गलत सुनेर बद्नाम गराउन खोजिएको गुनासो गरिन् । पत्रकार सम्मेलनमा उनले सत्य तथ्य नबुझी समाचार प्रकाशित हुँदा पाठकहरुको विश्वास र लोकप्रियता घट्ने हुनाले तथ्य र प्रमाणको आधारमा समाचार प्रकाशन गरिदिन आग्रह गरिन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘अनियमितताको अखडा बन्दै सुरुङ्गा नगरपालिका’ शीर्षक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सुरुङ्गा नगरपालिका ३, दौलतपुर (साविक दौलतपुर गाविस ५) को आरसिसि ढलान सम्बन्धी योजना, बजेट, सम्पन्न गरिएको काम र भुक्तानीको विषय उल्लेख गरिएको छ ।
२६ लाखको योजना, २० लाख ७७ हजार ३१ रुपैयाँमा ठेक्का
विज्ञप्तिमा साविक दौलतपुर ५ जुगल साहको घरदेखि उत्तर मण्डल टोलसम्म पिसिसि ढलान १५ लाख (आन्तरिक श्रोत) र दौलतपुर ४ लट्टु चौधरीको घरदेखि पश्चिम जनप्रभात मा.वि.को पिसिसि ढलानको ११ लाख रुपैयाँ (समानीकरण श्रोत) गरी २६ लाख रुपैयाँको दुवै योजनालाई एकीकृत गरी १४ फागुन २०७९ मा विद्युतीय माध्यमबाट ठेक्का आह्वान गरिएकोमा राजविराजस्थित ओमकारा इञ्जिनियरिङ् कन्सल्टेन्सी एण्ड कन्सट्रक्सनले भ्याटसहित २० लाख ७७ हजार ३१ रुपैयाँ ९८ पैसामा ठेक्का पाएको उल्लेख छ ।


एकीकृत गरिएको दुवै योजनामध्ये आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म वडा स्तरीय योजना साविक दौलतपुर ५ जुगल साहको घरदेखि उत्तर मण्डल टोलसम्म पिसिसि ढलानको काम सम्पन्न भई प्राविधिक नापजाँच र मूल्यांकन गरी भुक्तानीका लागि सिफारिशसहित आएको विज्ञप्तिमा जनाइएको छ । त्यतिबेला आर्थिक प्रशासन शाखाबाट भुक्तानी गर्ने समयमा वडा स्तरीय योजना साविक दौलतपुर ५ जुगल साहको घरदेखि उत्तर मण्डल टोलसम्म पिसिसि ढलानको श्रोत रकम अपुग भएपछि एकीकृत गरिएको अर्को नगर स्तरीय योजना दौलतपुर ४ लट्टु चौधरीको घरदेखि पश्चिम जनप्रभात मा.वि.को पिसिसि ढलान योजनाको रकम पुग्ने भएपछि ठेक्का रकममध्ये योजना मूल्यांकन बमोजिम १३ लाख ६८ हजार छ सय ४७ रुपैयाँ ७० पैसा भुक्तानी दिइएको र बाँकी रहेको कामको भुक्तानी बाँकी नै रहेको विज्ञप्तिमा उल्लेख छ ।