भूमिहीनका नेता रामको स्मृति दिवसमा आन्दोलन र अधिकारको चर्चा

सप्तरी । सिनो बहिष्कार, जोताहा किसान, भूमिहीन, सुकुम्बासीको अधिकार आन्दोलनका अगुवा बलदेव रामको छैठौं स्मृति दिवसको सन्दर्भमा आन्दोलनलाई थप सशक्त बनाई जग्गा प्राप्तिसँगै दीगो जीविकोपार्जन र सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गरिए उनको सपना साकार हुने बताएका छन् ।
स्मृति दिवसको सन्दर्भमा सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहामा बुधबार आयोजित ‘भूमिहीन, सुकुम्बासी, हरवा चरवार मोही किसानहरुको अधिकार र आन्दोलन’ विषयक संवाद कार्यक्रममा वक्तहरुले जोताहा किसान, भूमिहीन, सुकुम्बासी, हरवा चरवा, हलिया, कमैयाको थातथलोसहित जीविकोपार्जनका लागि जग्गा तथा पूँजीको व्यवस्थापन नगरेसम्म वास्तविक मुक्ति नहुने भएकाले त्यसका लागि दबाब दिन आन्दोललाई निरन्तरता दिइनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले सामाजिक आन्दोलनका अगुवा बलदेव रामको आन्तरिक रुपमा कम्युनिष्टहरुलाई सघाउने भएपनि अधिकार प्राप्तिको आन्दोलनलाई प्रभावकारी बनाउन सबै पार्टीसँग गर्ने समन्वयले भूािहीन, सुकुम्बासी, हरवा चरवा, हलिया, कमैयाको आन्दोलन देशव्यपाी रुपमा बिस्तार भएको बताए । हरवा, चरवा, भूमिहीन सुकुम्बासीहरुका लागि पहिलो पल्ट मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत् हरवा चरवा भूमिहीन सुकुम्बासीका समस्या सम्बाधन गर्ने प्रयास गरिुएको चर्चा गर्दै हरवा चरवाको लगत संकलन गरी त्यसपछि अन्य काम गरिने मन्त्री न्यौपानेले उल्लेख गरे । ‘लगत संकलनसँगै हरवा चरवा, भूमिहीन सुकुम्बासीको अवस्था यकिन भएपनि तिनको पुनःस्थापना, जीविकोपार्जनका लागि कार्यक्रम संचालन गरिने छ’ उनले भने
भूमिहीनलाई जग्गासहित पूँजी
संवाद कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका नीति विश्लेषक डा.जगत बस्नेतले गरिबी, जग्गाको लालपूर्जा तथा नागरिकता आपसमा जोडिएको चर्चा गर्दै खेती गर्नेको नाममा जग्गासहित पूँजीको व्यवस्था नगरेसम्म श्रम गर्नेहरु सधैं गरिब नै रहने बताए । ‘श्रम गर्ने भूमिहीन, हरवा चरवा, गरिबहरुलाई लालपूर्जासहितको जग्गा नदिएसम्म करार खेती, त्यसका लागि अनुदान दिएर गरिबी घट्दैन’ उनले भने ‘गरिबी घटाउने पहिलो भूमिहीन, सुकुम्बासी, हरवा चरवालाई जग्गाधनी बनाइनु पर्छ ।’
‘आफ्नो श्रम मात्र भएका भूमिहीन, सुकुम्बासी, हरवा चरवालाई आफ्नो स्वामित्वको जग्गाको मालिक नबनाएसम्म हुँदैन’ डा. बस्नेतले भने ‘अर्काको जग्गामा श्रम गरेपछि हुने उब्जनी जग्गावालाले लैजान्छन्, उत्पादनको मुख्य साधन जग्गा र पूँजी भूमिहीन, हरवा चरवाको नहुँदासम्म गरिबी उस्तै रहन्छ ।’

कार्यक्रममा राष्ट्रिय भूमिअधकार मञ्चका सचिवालय सदस्य तथा कार्यवाहक अध्यक्ष फौदासिंह स्याङ्वा, पूर्व अध्यक्षद्वय सोमप्रसाद भण्डारी, ल्यामबहादुर दर्जी, सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन थपलिया, हरवा चरवा अधिकार मञ्चका दशन मण्डल, द फ्रिडम फण्डका ब्रहमदेव राम, हलिया कमैया, हरवा चरवा आन्दोलनकर्मी बालाराम भट्टराई लगायतले बलदेव रामले देखाएको सामाजिक आन्दोलनलाई टुट्न नदिए उनीप्रति साँचो श्रद्धाञ्जलि हुने उल्लेख गरे । कार्यक्रममा रामकी धर्मपत्नी सुवत्रीवती मोची, पूर्वी सप्तरीमा सिनो बहिष्कार आन्दोलनका अगुवा दुःखी रामका छोरा कमानन्द रामलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
को हुन् बलदव ?
वि.सं. २०५६ सालको अन्तिमतिर सप्तरीको दौलतपुरबाट कथित दलितहरुले सिनो फाल्नै पर्ने कुरीति विरुद्ध सामाजिक विद्रोहको थालनी गरेका रामको अगुवाईमा सिरहा, सप्तरी, सुनसरी, मोरङ्, धनुषा लगायतका जिल्लामा सिनो फाल्नै पर्ने बाध्यकारी प्रथाको अन्त्य भएको थियो । त्यसपछि भूमिहीन, हरवा चरवा, दलितहरुको भूमि अधिचरका लागि राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापकसहित तीन कार्यकाल अध्यक्ष रहेका राम उच्चस्तरीय भूमिसुधार आयोग २०६५ का सदस्य समेत थिए । बृद्धावस्थामा समेत हलो कोदालो गर्दै आएका राम सिनो बहिष्कार आन्दोलन लगत्तै स्थापना भएको जनचेतना दलित संगम मधुपट्टिको अध्यक्ष समेत थिए । गा.वि.स. सचिवको रुपमा कार्यरत बाबुको अघिपछि गर्दागर्दै भूमिहीन, दलितहरुको दुःख पीडासँग नजिकिएका राम १४ वर्षको उमेरदेखि नै सामाजिक आन्दोलनमा सरिक हुँदै आएका थिए । आफू बसेको ठाउँ कनकपुर क्षेत्रमा मात्र दुई हजार तीन सय भन्दा बढीको संख्यामा रहेका मोहीहरुको समस्या भेटिएपछि भूमि आन्दोलनमा लागेको राम सुनाउँथे ।
दर्जनौं सम्मान र पुरस्कार
भूमिहीन, सुकुम्बासी हरवा चरवा आन्दोलनमार्फत् सामाजिक परिवर्तनको अभियान चलाएका राम दर्जनौं पटक सम्मानित र पुरस्कृत भएका थिए । राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिकोत्सव तथा २४ औं प्रकाश मानवअधिकार स्मृति दिवसको अवसरमा वैद्य– प्रकाश मानवअधिकार पुरस्कार– २०७३ बाट राम सम्मानित भएका थिए ।
त्यसअघि वि.सं. २०७१ मा राष्ट्रिय दलित आयोगको १३ औं वार्षिकोत्सव, अखिल नेपाल किसान संघको स्वर्ण जयन्ती (१६ वैशाख, २०५८), भूमि सरोकार मञ्च (२०६४), राष्ट्रिय मानवअधिकार आयोग (२०६४), जनउत्थान प्रतिष्ठान पुरस्कार (२०६२), दलित पत्रकार सरोकार समाज नेपाल (२०६१), टीकाराम पार्की मानव मर्यादा पुरस्कार, समाज कल्याण परिषद्द्वारा अम्बेडकर पुरस्कार (२०६९) द्वारा पुरस्कृत र सम्मानित भएका थिए । पूर्वी तराई क्षेत्रमा जातीय भेद्भाव, छुवाछूत तथा भूमिहीन हरवा चरवा अधिकार आन्दोलनको नेतृत्व गर्दै राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित सप्तरीको सुरुङ्गा नगरपालिका ४ मधुपट्टि कनकपुरका ६७ वर्षीय बलदेव रामको १७ साउन २०७४ मा ६७ वर्षको उमेरमा निधन भएको थियो ।