भूमिहीन सुकुम्बासीलाई निस्सा पत्र वितरण

सप्तरी । खडक नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जाको आधारको रुपमा लिइने निस्सा पत्र वितरण थालेको छ ।
नगरपालिकाको आयोजनामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले खडक नगरको ३, ५, ६, ७, ९, १० र ११ गरी ७ वटा वडाका दुई सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई आइतबार एक समारोहबीच निस्सा पत्र दिएको हो । खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले नगर क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई कानुनी स्वामित्वसहितको जग्गाधनी बनाउन लालपूर्जाका लागि निस्सा दिन थालिएको बताए ।
‘निस्सा पत्र पाएका दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई भूमि आयोगसँग मिलेर त्यसकै आधारमा जग्गाको अन्तिम नापजाँच, कित्ताकाट र नक्सासहित लालपूर्जा दिन्छौं’ उनले भने ‘यो जग्गा प्राप्ति होइन तर जग्गा नाप्ने बेलामा निस्सा चाहिन्छ ।’ निस्सा पाएपछि एउटा चरण पूरा भएकाले थप अनुगमन गरेर जग्गा नापीसहित जग्गाधनी दर्ता प्रमाण पूर्जा दिइने उनले बताए ।


निस्सा पत्र वितरण कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष हरेराम यादवले विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरणका लागि नगरसँग समन्वय गरिने बताए । निस्सा पाएका लाभग्राहीहरुको हकमा थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि आगामी असार मसान्तसम्म लालपूर्जा दिइने गरी काम गर्न अध्यक्ष यादवले आग्रह गरे ।
निस्सा वितरण समारोहमा आयोगका जिल्ला सदस्य हरि महतो, नापी कार्यालय सप्तरीका प्रमुख शत्रुघन यादव, खडक नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।