सप्तरी । सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका १ शिशुवारी गाउँकी करिब ३३ वर्षीया देवकीमाया परियार र २७ वर्षीया मञ्जितकुमारी लामा पुख्र्यौली सुकुम्बासी हुन् । समाजमा सुकुम्बासी भनेर हेपिंदै सामाजिक प्रतिष्ठा र आत्मसम्मानमा लागेको चोट वर्षौंसम्म सहँदै आएका परियार र लामाजस्ता १६ जनाले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) पाएका हुन् ।
सुरुङ्गा नगर कार्यपालिकाको आयोजनामा १ नं. वडाको पन्ध्रकठ्ठे बजारमा सोमबार दिउँसो आयोजित लालपूर्जा वितरण कार्यक्रममा भूमिहीन सुुकुम्बासीको रुपमा रहेका ११ दलित परिवार र पाँच जना जनजाती समुदायका गरी १६ जनालाई लालपूर्जा बाँडिएको हो । गत पुसमा निस्सापत्र बाँडिएका सुकुम्बासीहरुलाई भूमि आयोग, नगरपालिकाका सर्वेक्षकहरुले जग्गा नापजाँच गरी जिल्लामै दोस्र्रो चरणको पहिलो स्थानीय तहको रुपमा १६ जनालाई लालपूर्जा बाँडिएको सुरुङ्गा १ का वडाध्यक्ष छत्रबहादुर राउतले जानकारी दिए ।
उनका अनुसार वडाक्षेत्रमा रहेका २६ घरधुरी भूमिहीन सुकुम्बसी, ४२ घरधुरी भूमिहीन दलित र चार सय २७ घरधुरी अव्यवस्थित बसोवासीमध्ये पहिलो चरणमा १६ जनालाई लालपूर्जा दिइएको र बाँकीलाई नगरपालिका र भूमि आयोगसँग समन्वय गरी क्रमशः बाँडिने योजना रहेको छ ।
भूमि आयोग सप्तरीका सर्वेक्षक राहुलकुमार यादवका अनुसार नगरपालिकाको १ देखि ११ नं. वडा क्षेत्रमा गरिएको लगत संकलनको तथ्यांक अनुसार भूमिहीन सुकुम्बासी एक सय १४, भूमिहीन दलित चार सय २७ र अव्यवस्थित बसोवासी एक हजार आठ सय ५३ घरधुरी रहेका छन् । पूर्व पश्चिम राजमार्गदेखि उत्तरमा पर्ने १, २, ३ र ४ नं. वडा क्षेत्रमा संख्यात्मक रुपले बढी भूमिहीन सुुुम्बासी र अव्यवस्थित बसोवासी रहेकाले १ नंं. वडापछि २ नं. वडामा जग्गाको नापजाँच थालिने उनले बताए ।
प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, नगर प्रमुख गीता चौधरी, उपप्रमुख रुद्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थितिमा भएको लालपूर्जा वितरण कार्यक्रममा २०८० सालको अन्त्यसम्म सबै भूमिहीनहरुलाई लालपूर्जा वितरण गरी सुकुम्बासी मुक्त नगरपालिका बनाइने उद्घोष समेत गरिएको छ ।