नगरपालिकाको सहयोगमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

सिरहा । सिराहाको लहान नगरपालिकाले नगर क्षेत्रमा बसोवास गरिरहेका आँखाको मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गराइदिने भएको छ ।
नगरक्षेत्रमा बसोवास गरिरहेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरिएको छ । मेयर महेश प्रसाद चौधरी र लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका तर्फबाट व्यवस्थापन समिति अध्यक्ष रविन्द्रलाल चौधरीबीच निःशुल्क शल्यक्रिया सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि शुक्रबार (१५ मंसिर) देखि चालु आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म अस्पताल व्यवस्थापन समितिको रोहवरमा नगर क्षेत्रका एक हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।
मोतियाबिन्दुको शल्यक्रियाको क्रममा चाहिले लेन्स, कन्जुमेबल्स तथा अन्य खर्चवापत् प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले लाग्ने खर्च नगरपालिकाले बेहोर्ने र बिरामी डिस्चार्ज भएर घर फर्किंदा यातायात खर्च अस्पतालले बेहोर्ने गरी सम्झौता भएको मेयर चौधरीले बताए । ‘यो सम्झौताले नगर क्षेत्रका विशेषतः गरिब, दलित, बिपन्न, ज्येष्ठ नागरिक र असहायहरुलाई बढी फाइदा पुग्ने छ’ मेयर चौधरीले भने ।
गाउँ गाउँमा शिविर संचालन गरिने
मोतियाबिन्दुबाट हुन सक्ने अन्धोपन रोक्न नगरको २४ वटै वडामा विभिन्न सचेतनामूलक कार्यक्रमसहित आँखा जाँच शिविर संचालन गरिने मेयर चौधरीले बताए । ‘शिविरमा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पताल ल्याएर निःशुल्क शल्यक्रिया गरिने छ’ उनले भने ।
त्यसका साथै मोतियाबिन्दुबाट हुने अन्धोपन रोक्न सचेतनामूलक पर्चा पम्प्लेटसहित प्रचार प्रसार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे स्थानीय पत्रपत्रिका, एमफएम रेडियो र टेलिभिजन तथा अनलाइन पोर्टलहरुमा सन्देशमूलक विज्ञापन प्रकाशन प्रसारण गरिने उनले बताए ।
सगरमाथा चौधरी आँखा अस्पतालका प्रबन्धक अभिषेक रोशनले अन्धोपनको मुख्य कारक मोतियाबिन्दु रहेको जानकारी दिए । ‘अस्पतालमा आँखा उपचारका लागि आउने आँखाका बिरामीमध्ये करिब ७० प्रतिशत मोतियाबिन्दुका बिरामी हुने र बाँकी अन्य कारणले समस्या भएका बिरामी हुन्छन्’ प्रबन्धक रोशनले भने ।
‘समयमै उपचार गराउँदा पहिले झैं देख्न सकिने तर विभिन्न कारणले उपचार गराउन नगए अन्धोपन हुने जोखिमको सम्भावना बढी भएकाले नगरपालिकाले थालेको काम सह्रानीय हो’ उनले भने । सम्झौता अनुसार अस्पतालले शिविरमार्फत् पहिचान गरिएका बिरामीको शल्यक्रिया गरी डिस्चार्ज गरेपछि पेश गरिने प्रतिवेदनको आधारमा नगरपालिकाले रकम भुक्तानी हुने उनले बताए ।