मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष भट्टराई मृत भेटिए

सर्लाही । मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष ६९ वर्षीय शिवहरि भट्टराई मृत फेला परेका छन् । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको शनिबार हुने साधारणसभामा सहभागी हुन लालबन्दी नगरपालिका १३ पत्थरकोट पुगेका भट्टराईको त्यहीं निधन भएको हो ।
शुक्रबार राती पत्थरकोटस्थित होलिडे रिसोर्टमा खाना खाएर सुतेका भट्टराईको शनिबार बिहान खोजी हुँदा मृत्यु भएको अवस्थामा भेटिएका हुन् । शनिबार बिहान रिसोर्टको हलमा साधारणसभा सुरु हुन लागेपछि उनको खोजी भएको थियो । खोजी गर्ने क्रममा उनी सुतेको कोठा खोलेर हेर्दा हातमा र छरिएको अवस्थामा औषधिहरुसहित मृत अवस्थामा फेला परेका हुन् । भट्टराई सुतेको कोठामा वान्ता भएको समेत पाइएको प्रहरीले जनाएको छ ।
साधारणसभामा सहभागी हुन आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णसँगै काउन्सिलको गाडीमा लालबन्दी पुगेपछि संयोगले लालबन्दीमा भेटिएपछि साँझ ५ बजेतिर चिया पिएर छुटेको सप्तरीका बरिष्ठ पत्रकार व्यासशंकर उपाध्यायले बताए । उनका अनुसार भट्टराई लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी रहेकाले नियमित औषधि सेवन गर्दै आएका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपभापति समेत रहिसकेका भट्टराई चार वर्ष अवधिका लागि पछिल्लो अढाई वर्षदेखि मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष थिए । सप्तरीको राजविराज नगरपालिका ७ घर भएका पत्रकार भट्टराई सिरहा, सप्तरी जिल्लाकै अग्रज पत्रकार मानिन्थे । दिवङ्गत भट्टराईका श्रीमती, दुई छोरा र एक छोरी छन् ।