अवैध लागूऔषधसहित पक्राउ परेका पाँच जना विरुद्ध मुद्दा

सिरहा । प्रहरीले चेकजाँचको क्रममा जिल्लाको लहान र सिरहा क्षेत्रका विभिन्न चार ठाउँबाट नेपाली र भारतीय नम्बर प्लेटको मोटरसाइकल, प्रतिबन्धित लागूऔषध र नगदसहित पाँच जनालाई पक्राउ गरी लागूऔषध मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले बिहीबार लहान नगरपालिकाको सिङ्राहीस्थित जे.एस. बहुमुखी क्याम्पसको पछाडिको सडकबाट दई जना र गोविन्दपुरस्थित झोलुङ्गे पुलबाट तीन जना, सिराहाको कालीचोक र सोहर्वाबाट लागूऔषधसहित पक्राउ गरिएका दुई जनासहित पाँच जना विरुद्ध लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिइएको छ ।

जे.एस. बहुमुखी क्याम्पसको पछाडिको सडक र लहान गोविन्दपुरको झोलुङ्गे पुलबाट छुट्टाछुट्टै दुई सय ३० पत्ता नाइट्राभेट– १०, प्रदेश २–०१–००२ प. ८५२ नं. को मोटरसाईकल, विभिन्न कम्पनीका चार थान मोवाईलसहित सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका ३ का ४० वर्षीय दुजे यादव, २७ वर्षीय सुरेश कुमार यादव र लहान १७ का २८ वर्षीय इन्दल रामलाई पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय माडर लगडीगदियानी प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले मिर्चैया नगरपालिका ८ मरेवा बस्ने २२ वर्षीय जागेश्वर यादवलाई पाँच पत्ता नाइट्राभेट, १३ पत्ता स्पास्मो, एक सय एम.एल.को २५ बोतल कोरेक्सहित सिरहा १७ कालीचोकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।
उनका अनुसार लगडीगदियानी प्रहरी चौकीबाट खटिएको प्रहरीले स्थानीय सोहर्वा चोकबाट भारत मधुवनी जिल्ला मधुवनी ग्रामपंचायत ६ बस्ने वर्ष २४ वर्षीय उपेन्द्र कुमार साफीलाई एक किलो ७० ग्राम लागूऔषध गाँजा, एयरटेल कम्पनीको दुई थान सिम, पि.बी. १० सि.सि.३८१९ नम्बरको भारतीय मोटरसाइकल भारतीय र नेपाली मुद्रा तीन हजार तीन सय १५ रुपैयाँ र एक थान मोवाइलसहित पक्राउ गरिएको छ ।