लैंगिक यौनिक अल्पसंख्यकलाई राहतस्वरुप खाद्य सामग्री वितरण

सिरहा । सामाजिक त्रास र पारिवारिक प्रतिष्ठाको कारणले आफ्नो पहिचान लुकाएर बाँच्न बाध्य लैंगिक यौनिक अल्पसंख्यकलाई लहानमा राहतस्वरुप गुडागुडी र अण्डासहितको खाद्य सामग्री वितरण गरिएको छ ।
चाडपर्वको बेलामा जीविकाको लागि आफूहरुले गर्दै आएको गाउने र नाच्ने काम बन्द हुँदा हातमुख जोड्नै गाह्रो परिरहेका बेला खाद्यसामग्री पाउँदा ठूलो राहत महसूस भएको लैंगिक यौनिक अल्पसंख्यकले बताए । ‘नवजात शिशु भएको घरमा पुगेर शिशु र अभिभावकलाई गीत र नृत्यमार्फत् आशीर्वाद दिंदा बक्सिसवापत् पाउने रकमले हातमुख जोड्दै आएका थियौं’ सिरहाको कल्याणपुर नगरपालिका ९ डुमरीकी करिब ४३ वर्षीया मुन्नि किन्नरले भनिन् ‘दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वको बेलामा गाउँघर घुम्न नपाउँदा हातमुख जाड्नै गाह्रो भएको बेला पाएको राहतले केही दिनका लागि भएपनि सजिलो भयो ।’
गोलबजार नगरपालिका ९ चोहर्वाका ३६ वर्षीय श्याम माझीले भने ‘चाडपर्वकै बेलामा राहत स्वरुप खाद्य सामग्री पाउँदा खुशी लागेको छ ।’ जिल्लाका विभिन्न स्थानीय तहमा बसोवास गरिरहेकामध्ये शनिबार ९० र आइतबार २१ गरी एक सय २१ जना लैंगिक यौनिक अल्पसंख्यकलाई अण्डा, गेडागुडी, दाल, चामल, आलु, प्याज, नुन, तेल लगायतका खाद्यसामग्री वितरण गरिएको लहानस्थित जीवन ज्योति समाजका कार्यक्रम संयोजक लक्ष्मेश्वर यादवले जानकारी दिए ।
संयोजक यादवका अनुसार सिआरएम–१९ कार्यक्रम अन्तर्गत निलहिरा समाजको पहलमा समाजमार्फत् १५ किलो चामल, ४८ वटा अण्डा, दुई किलो दाल, नुहाउने र लुगा धुने गरी आठ वटा साबुन, दुई किलो मटर, एक लिटर खानेतेल, दुई प्याकेट नुन, चार किलो प्याज र चार किलो आलुसहितको खाद्य सामग्री वितरण गरिएको हो ।