सत्तारुढ– विपक्षी गठबन्धन, साना दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन

सिरहा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहाका चारवटा संघीय तथा आठवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ तथा एमाले जसपासहितको विपक्षी गठबन्धन, साना दल तथा स्वतन्त्र तथा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रे्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरीले मनोनयन दर्ता गरेका छन् भने प्रदेशसभा १ ‘क’ लागि कांग्रेस सिराहाका जिल्ला उपसभापति समेत रहेका सुनिलकुमार महतो र ‘ख’ का लागि नेकपा एकीकृत समाजवादीबाट निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका अशोककुमार यादवले मनोनयन दर्ता गरेको लहानस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विपक्षी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका रामशंकर यादव, १ ‘क’ मा एमालेका राजेन्द्रप्रसाद चौधरी र १ ‘ख’ मा जसपाका राजु गुप्ताको मनोनयन दर्ता भएको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादव, २ ‘क’ मा नेकपा माओवादी केन्द्रका जीवछ यादव र २ ‘ख’ मा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवको उम्मेदवारी परेको छ । श्रीवास्तव निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् । विपक्षी गठबन्धनबाट जसपाका राजकिशोर यादव प्रतिनिधिसभा तथा २ ‘क’ मा जसपाबाटै मधेस प्रदेश सरकारमा कृषि मन्त्री रहेका विजयकुमार यादव, २ ‘ख’ मा आइतबार बिहान मात्र एमाले प्रवेश गरेका शत्रुधन प्रसाद सिंह कोइरीे मनोनयन परेको छ ।
प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ बाट लेखक तथा पत्रकार रामरिझन यादवले ‘एक पुस्तक एक भोट’ को नारासहित स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य देवकुमार यादवले पनि प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यही क्षेत्रमा शिव यादव, २ ‘क’ मा जसपा परित्याग गरेका राजलाल यादव र २ ‘ख’ मा योगेश सिंहले उम्मेदवारी दिएका छन् ।
चारवटा संघीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनबाट पूर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य विश्वनाथ साह ३ ‘क’ मा कांग्रेसका रामसगुन यादव र ३ ‘ख’ मा एकीकृत समाजवादीबाट मधेस प्रदेश सरकारका कानुनमन्त्री समेत रहेका प्रमोदकुमार यादवको मनोनयन परेको छ । विपक्षी गठबन्धनबाट एमालेका मधेस प्रदेश सहइञ्चार्ज तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, ३ ‘क’ का लागि जसपाकी रेणु यादव तथा ३ ‘ख’ मा आइतबार बिहान जसपाबाट एमाले प्रवेश गरेका मनोज सिंहको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह, ४ ‘क’ मा माओवादी केन्द्रका महेन्द्र पासवान, ४ ‘ख’ मा कांग्रेसका कपिल साह तथा लोसपाका रामबाबु यादवको उम्मेदवारी परेको छ । सत्तारुढ गठबनधनमा रहेको लोसपाको हिस्सामा परेको भनिएको उक्त क्षेत्रमा कांग्रेसका साहले उम्मेदवारी दर्ता गराएपछि यादवले पनि उम्मेदवारी दिएको दिएको जनाइएको छ । विपक्षी गठबन्धनका जसपाबाट प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ४ का लागि डा. बीरेन्द्र महतो, ४ ‘क’ मा एमालेका प्रकाश महासेठ तथा ४ ‘ख’ मा जसपाका सुरेश कुमार मण्डलको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि क्षेज्ञ नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विमल कुमार तिवारीले उम्मेदवारी दिएका छन् ।