सिरहा । प्रायः भूमिहीनता र पुख्र्यौली ऋण वापत् बँधुवा मजदूर सरह काम गरिरहेका हरवा चरवासहित भूमिहीन सुकुम्बासीलाई जग्गा धनी बनाउन राष्ट्रिय भूमि आयोगले काम गरिरहेकाले आ–आफ्नो स्थानीय तहमा लगत संकलनमा सहभागी बन्न जोड दिइएको छ ।
आयोगको समन्वयमा दलित जनकल्याण युवा क्लव लहानद्वारा धनगढीमाईको जिरोमाइलस्थित बुद्ध महला बचत तथा ऋण सहकारी संस्थाको सभाकक्षमा बुधबार आयोजित ‘अव्यवस्थित बसोवासी, हरवा चरवा भूमिहीनको सवालमा अन्तक्र्रिया कार्यक्रम’ मा आयोगका जिल्ला अध्यक्ष रामअधिन यादवले जिल्लाको कुनै पनि ठाउँमा कोही पनि भूमिहीन सुकुम्बासी नरहुन् भन्ने उद्देश्यसहित काम गरिरहेको बताए । ‘बस्ने थातथलो र जोतभोग गर्दै आएको जग्गाको लालपूर्जाका लागि कतै जानु पर्दैन, आफ्नो बसोवास रहेको स्थानीय तहको वडा र आयोगसँग समन्वय गर्दा मात्र पनि हुन्छ ।’
‘भूमिहीन सुकुम्बासीलाई जग्गा दिन आफू बसेको स्थानीय तहले आयोगसँग सम्झौता गरे नगरेको बुझ्नुस्, नगरेको भए सम्झौताका लागि दवाव दिनुस्, गरेको भए कोही पनि भूमिहीन सुकुम्बासी नछुट्ने गरी आवश्यक कागजतसहित लगत संकलकलाई सही विवरण भराउनुस्’ अध्यक्ष यादवले भने । आ–आफ्नो स्थानीय तहमा आयोगले जग्गा वितरणका लागि कसैले रकम माग गर्यो भने तत्काल आयोगलाइ खवर गर्न उनको आग्रह थियो ।
लगत भर्न सहयोग जरुरी
आयोगका सदस्य सचिव तथा सिरहा नापी कार्यालयका प्रमुख इञ्जिनियर रविन सिंहले अन्तक्र्रिया महत्वपूर्ण समयमा भएको चर्चा गर्दै आयोगको सकृयताको कारणले काम थालेको छाटो अवधिमै एक सय नौ जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा दिन सफल भएको बताए । ‘जिल्लाको कर्जन्हा, गोलबजार, मिर्चैया, विष्णुपुरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलन भइरहेको छ’ इञ्जिनियर सिंहले भने ‘सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हरवा चरवा, भूमिहीन, सुकुम्बासीलाई लगत संकलनका लागि सामाजिक संघ संस्थाले सघाउँदा काम छिटो र सहज हुन सक्छ ।’
धनगढीमाई नगर कार्यपालिका सदस्य टीकाराम विश्वकर्माले सडक किनारमा बसिरहेका भूमिहीन सुुकुम्बासी, हरवा चरवालाई सडक बिस्तारको नाममा बैकल्पिक व्यवस्था नगरी हटाउन नहुने बताए । ‘नगर कार्यपालिकाको आगामी बैठकमा नगर क्षेत्रमा त्यस्ता कति परिवार छन्, उनीहरुको संख्या यकिन गरी नगर क्षेत्रको अन्य ठाउँमा रहेको जग्गामा व्यवस्थित गर्ने गरी निर्णय गर्छौं’ कार्यपालिका सदस्य विश्वकर्माले भने ‘नगर र वडा स्तरीय योजनाहरुमा तिनको सहभगिताका लागि जोड दिइने छ ।’
कार्यक्रममा हरवा चरवा अधिकार मञ्चका केन्द्रीय सचिव मो. कासिमले आफूहरुको सुरक्षित बसोवासका लागि आयोगले निष्पक्ष रुपले काम गर्नु पर्ने बताए भने कोषाध्यक्ष राजवती मण्डलले करिब दुई दशकदेखिको आन्दोलन स्वरुप गत २ साउनमा प्रधानमन्त्रीले हरवा चरवा मुक्तिको घोषणा गरे अनुसार व्यवहारमै मुक्ति र पुनःस्थापनाको काम गर्न माग गरिन् । अन्तक्र्रियामा हरवा चरवा सशक्तिकरण कार्यक्रमका संयोजक बहादुर सदायले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याएका थिए । मञ्चका जिल्ला अध्यक्ष श्यामसुन्दर सदायको अध्यक्षतामा सम्पन्न कार्यक्रम आशा विश्वकर्माले संचालन गरेकी थिइन् ।